पेनाल्टी गोलको मद्दतले फ्रान्स क्वाटरफाइनलमा, अर्जेन्टिनाको यस पटकको विश्वकप यात्रा समाप्त

Advertisement

मस्कोः दुई पटकको विश्वकप फुटबल विजेता अर्जेन्टिनालाई पेनाल्टी गोलको मद्दतले हराउँदै फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४-३ गोलअन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

पटक पटक अर्जेन्टिनासँग हार खाँदै र कहिले बराबरीको खेल खेल्दै आएको फ्रान्सले अर्जेन्टिनालाई प्रिक्वाटरफाइनलमा अर्जेन्टिनालाई हराएर नयाँ इतिहास रचेको छ । उत्कृष्ट खेलका बीच पनि अर्जेन्टिना यसै खेलबाट फिर्ता हुनुपर्ने भएको छ । २-१ ले अग्रता लिएको अर्जेन्टिनाले आफ्नो अग्रता कायम राख्न नसक्दा खेलको नजिता उल्टिएर फ्रान्सको पक्षमा गएको हो ।

पहिलो हाफमा दुवै टोलीले एकएक गोल गरेका थिए। खेलमा अग्रता भने फ्रान्सले पेनाल्टीबाट बनाएको थियो । खेलको १२औं मिनेटमा काइलियन एमबाप्पेलाई अर्जेन्टिनाका मार्कोस रोजाले डी एरियाभित्र लडाएपछि फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो । पेनाल्टीमा एन्टोनियो ग्रिजम्यानले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

पहिलो हाफको १९औं मिनेटमा फ्रान्सले पाएको डिबक्स बाहिरको फ्रिकिकको राम्रो अवसरलाई सदुपयोग गर्न सकेन् । अर्जेन्टिनाका निकोलस ताग्लाफिकोले फ्रान्सका एमबाप्पेलाई डीबक्स एरिया बाहिर लडाएपछि फ्रिकिक पाएको थियो । उक्त फ्रिकिकमा फ्रान्सका पल पोग्बाले प्रहार गरेको बल गोल पोस्टको पालमा लागेर बाहिरिएको थियो।

अर्जेन्टिनाले ४१ औं मिनेटमा बराबरी गोल गर्दै संभावना कायम राखेको थियो । अर्जेन्टिनाका लागि एन्जल डी मारियाले सुन्दर गोल गरेका थिए । दोस्रो हाफको सुरुमै ४८ औं मिनेटमा पल पोग्बाले राम्रोसँग क्लियर गर्न नसकेको बलमा ग्याब्रियल मार्काडोले गोल गर्दै अर्जेन्टिनालाई २-१ को अग्रता दिलाएका थिए ।

दोस्रो गोल खाएपछि आक्रामक खेल खेलेको फ्रान्सका बेन्जामिन पाभर्डलेले ५७औं मिनेटमा गोल गर्दै खेल बराबरी गरे भने खेलको ६४ औं मिनेटमा फ्रान्सका काइलियन एमबाप्पेले गोल गर्दै टोलीलाई ३-२ को अग्रता दिलाए।

खेलको ६८ औं मिनेटमा ओलिभर गिरोडले उपलब्ध गराएको बलमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई ४-२ को अन्तर गराएपछि अर्जेन्टिनाको संभावना क्षिण बन्न पुगेको थियो । दुई गोलले पछि परेको अर्जेन्टिनाले खेलको अन्तिमसम्म पनि खेलमा फर्किने प्रयास गरेको थियो। इन्जुरी समयको ९३ औं मिनेटमा अर्जेन्टिनाका सर्जियो एग्वेरोले गोल गर्दै खेल ४-३ मा पुर्याए पनि बराबरी गर्न नसकेपछि अर्जेन्टिनाका समर्थकहरु निराश बन्न पुगेका थिए । अर्जेन्टिनाका सबै खेलमा लियोनेल मेस्सीको पासले निकै सहयोग गरे पनि मेस्सी आफैले भने कुनै जादु भने देखाउन सकेनन् ।

Advertisement

Advertisement