ब्रुमर खरिद अनियमितता प्रकरणः काठमाडौं महानगरपालिकाले स्पष्टिकरण दिन मानेन

Advertisement

काठमाडौंः ब्रुमर (रोड स्वीपर) खरिदसम्वन्धी टेण्डर प्रक्रियामा भएको अनियमितताको बारेमा सार्वजनिक खरिद अनुगमन कार्यालयले सोधेको प्रश्नको काठमाडौं महानगरपालिकाले स्पष्टिकरण दिन अटेर गरेको छ ।

कार्यालयले तीन दिनभित्र स्पष्टिकरण दिन भन्दै असार १० गते पत्र काटेपनि महानगरपालिकाले त्यसको स्पष्टिकरण दिन आनकानी गरेको हो । सार्वजनिक खरिद ऐनविपरित मापदण्ड नपुगेको र बढी रकम प्रस्ताव गर्ने कम्पनीलाई ठेक्का दिएको देखिएपछि कार्यालयले त्यस विषयमा जवाफ माग गरेको हो ।

ब्रुमर खरिदमा अमुक कम्पनीलाई लक्षित गर्दै स्पेसिफिकेशन तयार गर्ने र न्यून रकम बोलकबोल गर्ने दुई कम्पनीलाई ठेक्का नदिई झण्डै पौडे दुई करोड रुपियाँ बढी प्रस्ताव गर्ने कम्पनीलाई ठेक्का दिने निर्णय गरिएको भन्दै उजुरी परेपछि कार्यालयले काठमाडौं महानगरपालिकालाई पत्र काटेको हो ।

कार्यालयका एक अधिकारी केशव प्रसाईं भन्छन्– हामीले तीन दिनभित्र जवाफ मागेका थियौं । तर, उहाँहरुले जवाफ दिन अटेर गर्दै हुनुहुन्छ । अटेर गरेपछि कारवाहीको एकोहोरो फैसला पनि हुनसक्छ । हदम्यादमा नआउनु भनेको कानुन नमान्नु हो ।

उनले केही दिनमा आफूहरुले स्थलगत अनुगमन पनि गर्ने र ब्रुमरसम्वन्धी टेण्डरको सबै डकुमेन्ट हेर्ने बताउँदै अनियमितता भएको पाइए अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कारवाहीको लागि सिफारिस गर्ने टेण्डरमा त्रुटी भएको पाइए त्यसलाई रद्द गर्न प्रधानमन्त्री कार्यालयलाई सिफारिस गर्ने बताए । अहिले जवाफ नपठाएको विषयमा पनि त्यतिबेला नै होलसेलमा कारवाही हुने प्रसाईंले बताए ।

यता काठमाडौं महामहानगरका कर्मचारीहरुले ब्रुमर खरिद प्रक्रियामा त्रुटी भएको भन्दै निर्णय उल्ट्याउने संभावना बढेको बताउँछन् । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसहित केही कर्मचारी युरोपियन ब्राण्ड डेलोभोको ब्रुमर भित्राउने पक्षमा छन् । सोही योजनाअनुसार महानगरपालिकाले उसकै स्पेसिफिकेशनअनुसार टेण्डर आह्वान गर्यो ।

तर टेण्डर प्रक्रियामा डेलोभोभन्दा सस्तोमा त्यो भन्दा उपयोगी ब्रुमरहरु आयात गर्न प्रस्ताव परेपछि काठमाडौं महानगरपालिकाले निर्णय गर्न ढिलाई गर्दै आएको थियो । करिव दुई साताअघि मात्रै सोही डेलोभो ब्राण्डको ब्रुमर आयात गर्न प्रस्ताव गर्ने कम्पनीले महानगरपालिकाले ठेक्का स्वीकृति गरेपछि विवाद भएको हो ।

ठूलो उद्योग, कलकारखान, रंगशाखा, सपिङ, विमानस्थलमा मात्रै प्रयोग हुने डेलेभो ब्राण्डका ब्रुमरहरु नेपालका बढी धुलो हुने सडकका लागि उपयुक्त नहुने महानगरका कर्मचारीहरुले बताउँदा बताउँदै मेयर शाक्यले सोही ब्रुमर ल्याउनुपने अडान लिँदै ठेक्का स्वीकृत गरेपछि विवाद भएको छ ।

डेलेभोभन्दा कम तथा बढी रकम प्रस्ताव गर्ने दुई कम्पनीहरुले अहिले अख्तियारदेखि सार्वजनिक खरिद अनुगमन कार्यालयमा प्रचलित कानुनविपरित आर्थिक प्रलोभनमा डेलेभोको ठेक्का स्वीकृत गरिएको भन्दै कारवाहीका लागि उजुरी दिएका छन् । उनीहरुले डेलेभोको ब्रमर खरिदका लागि मापदण्ड नै नपुग्ने भन्दै नेपालभरका नगरपालिकादेखि महानगरपालिकासम्म आफ्नो ब्राण्डका ब्रुमरहरु बिकाउने योजनाअनुसार डेलेभोको स्थानीय एजेन्टले सम्वन्धित निकायका पदाधिकारी एवं कर्मचारीर्ला आर्थिक प्रलोभनमा पादै ठेक्का आफ्नो पक्षमा पार्ने काम गरेका छन् ।

काठमाडौं महानगरपालिकाले गत फागुन २६ गते गरेको टेण्डर प्रक्रियामा सात वटा कम्पनीले ब्रुमर भित्राउन इच्छा प्रकट गर्दै टेण्डर प्रक्रियामा सहभागी भएका थिए । सुचनाअनुसार इच्छुक बोलपत्रदाताले पाँच वटा ब्रुमर आयात गर्नुपर्ने र तीन बर्षसम्म त्यसको सञ्चालनको जिम्मा लिनुपर्नेछ । इन्धन महानगरपालिकाले उपलब्ध गराए पनि चालक भने सम्वन्धित कम्पनीले नै व्यवस्था गर्नुपने शर्त छ ।

महानगरपालिकाको शर्तअनुसार प्रस्ताव दर्ता गर्ने सात कम्पनीमा प्यार सिंह एण्ड सन्स जेभी राजले सबैभन्दा कम नौ करोड १० लाख ६५ हजार प्रस्ताव गरेको छ । भारतीय ब्राण्डको आर२०५९एचडी मोडलको ब्रुमर आयातको प्रस्ताव गरेको यस कम्पनीलाई महानगरले मापदण्ड नपुगेको आरोप लगाउँदै अयोग्य ठहर गरेको छ ।

त्यस्तै, दोस्रो न्यून रकम प्रस्ताव गर्ने बोलपत्रदाता काला इन्कर्पोरेटेड प्रालि जेभी गुरु नानक इन्जिनियरिङ ओक्सले नौ करोड नौ करोड २० लाख ७५ हजार रुपियाँको प्रस्ताव गरेको छ । यसलाई पनि महानगरपालिकाले मापदण्ड नपुगेको भन्दै अयोग्य ठहर गरेको छ ।

सार्वजनिक खरिद ऐनअनुसार टेण्डरमा सहभागीहरुमध्ये न्यूनतम बोलकबोल गर्ने कुनै कम्पनीको मापदण्ड नपुगेको भए बोलाएर पुर्याउन मौका दिनुपर्ने र पुर्याउन नसक्ने अवस्थमा मात्रै माथिल्लो रकम प्रस्ताव गर्नेलाई ठेक्का दिनुपर्नेमा महानगरपालिकाले नै बदनियतपूर्ण तरिकाले न्यून रकम प्रस्ताव गर्ने प्रस्तावकहरुलाई अस्वीकृत गरेको छ ।

ठेक्का अवार्ड गर्ने निर्णय गरिएको तेस्रो नम्बरमा रहेको बोलपत्रदाता वल्ड वाइड ट्रेडिङ प्रालिले प्रस्ताव गरेको रकम दोस्रो नम्बरको बोलपत्रदाताले कोट गरेको रकमभन्दा एक करोड एक करोड ६० लाख ७४ हजार रुपियाँ बढि छ भने पहिलो नम्बरमा रहेको बोलपत्रदाताले प्रस्ताव गरेको भन्दा एक करोड एक करोड ७० लाख ८४ हजार रुपियाँ बढि छ ।

डेलोभो ब्राण्डको इटालियन ब्रुमर आयात गर्न प्रस्ताव गर्ने वल्ड वाइड ट्रेडिङले प्रस्तुत गरेको स्पेसिफिकेशन र महानगरपालिकाले माग गरेको स्पेसिफिकेशन करिव करिव मिल्दो जुल्दो छ । ठेक्कामा सहभागी अन्य चार कम्पनीमध्ये तीन वटाको प्राविधिक मापदण्ड पूरा गरे पनि रकम बढि छ भने सातौं नम्बरको कम्पनीले मापदण्डअनुसार नरहेको भन्दै उसलाई पनि कैफियत जनाइएको छ ।

ब्रुमर खरिदकै विषयमा यसअघिका कार्यकारी निर्देशक धनीराम शर्मासँग विवाद भएपछि उनलाई सरुवा गरिएको थियो । सो ठाउँमा नियुक्त भएर आएका यादव कोइरालामार्फत यो काम फत्ते गराउने काम विद्यासुन्दरले गरेका छन् । यस खरिद प्रक्रियामा मुख्यरुपमा जोडिएका महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्की, वातावरण विभागका प्रमुख हरि कुँवर र इन्जिनियरिङ विभागका प्रमुख प्रमोद डंगोल पनि दिल्लीस्थित डेलोभोका प्रतिनिधिहरुसँग कुरा गर्न दिल्ली पुगेका आएका थिए ।

यस खरिद प्रक्रियालाई बैधानिकता दिन महानगरपालिकाकै कर्मचारी रविनमान श्रेष्ठको संयोजकत्वमा (रोड स्वीपर) ब्रुमर खरिद मूल्यांकन उपसमिति बनाइएको थियो । उपसमितिले मेयरको आदेशअनुसार नै डेलोभोको खरिदलाई उचित ठहर गर्दै प्रतिवेदन दिएको छ ।

महानगरपालिकाले अहिले छनोट गरेको युरोपियन ब्राण्ड डेलोभो पनि काठमाडौंको सडकका लागि फिट नहुने कुरा महानगरकै बैठकहरुमा पटक पटक कुरा हुँदाहुँदै पनि त्यही ब्रुमरहरु ल्याउने निर्णय गरिएको हो । भारतमै पनि डेलोभोका ब्रुमरहरु प्रचलनमा रहेका छन् । तर, ती सबै सडकमा नभई सुविधायुक्त ठाउँहरु विमानस्थल र क्रिकेट मैदानमा मात्रै प्रयोग हुँदै आएका छन् ।

यता भारतमै उत्पादन हुँदै आएका ब्रुमरहरु भारतकै सयौं नगरपालिकाहरुले आफ्ना सडक सफा गर्न प्रयोग गर्दै आएका छन् । लागतका हिसावले पनि सस्तो, स्पियर पार्टहरु पनि सजिलै पाउन सकिने, बिग्रिएमा नेपालकै मेकानिक्सहरुले मर्मत गर्न सक्ने र नेपालका फोहर सडकहरुलाई सफा गर्न उपयुक्त हुँदाहुँदै आर्थिक प्रलोभनमा परेर इटालियन ब्रुमर ल्याउने काम हुन लागेको महानगरपालिकाका कर्मचारी बताउँछन् ।

यसअघि भारतमै राष्ट्र मण्डल खेलका लागि इटालियन ब्रुमर खरिद गर्दा भ्रष्टाचार गरेको ठहर भएपछि पुनेका काँग्रेस आईका नेता सुरेश कलमाडी अहिले पनि जेल सजाय काटिरहेका छन् । नेपालमा पनि केही मानिसको आर्थिक स्वार्थका लागि युरोपियन ब्रुमरहरु ल्याउने हो भने एक महिनाभन्दा बढि समय नटिक्ने स्वयम महानगरका कर्मचारीहरुको स्वीकारोक्ती छ ।

Advertisement

Advertisement

Advertisement