विमानस्थललाई विलम्ब शुल्क नतिर्ने दाउमा एयर एसिया, फेरी सेवा सञ्चालन गर्ला त ?

Advertisement

काठमाडौं । मलेसियन एअर कम्पनी एअर एसियाले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल (टिआइए) कार्यालयलाई तिर्नुपनेै विलम्ब शुल्क (पेनाल्टी) छुट गराउने दाउमा रकम चुक्ता नगरीे नेपाल उडान बन्द गरेको खुलासा भएको छ ।

एयर एसियाले पहिलेदेखिनै पेनाल्टी बापतको रकम छुट पाउनुपर्ने माग गरेको र अन्तिम समयमा जतिसुकै ताकेता गरेता पनि बक्यौता रकम मात्र तिरेर पेनाल्टी नतिरी उडान बन्द गरेको विमानस्थल कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी गराएका छन् । कम्पनीले असोज २७ गतेदेखि नेपालको उडान बन्द गरेको हो ।

एअर एसियाले विमानस्थललाई सुरुदेखिकै बक्यौता रकम बाँकी राखेको थियो । क्षेत्रीका अनुसार बक्यौता रकम २७ करोड र पेनाल्टी १३ करोड गरी ४० करोड रुपैयाँ बाँकी थियो ।

‘बारम्बारको ताकेता र चेतवानीपछि किस्ताबन्दीमा रकम घटाउँदै गयो,’ उनले भने, ‘अन्तिम समयमा आएर पेनाल्टीवापतको रकम भने तिरेको छैन ।’ विमानस्थल कार्यालय कम्पनीको माग बावजुद पेनाल्टी रकम छुट दिन नमिल्ने र उक्त रकम नतिरे जहाज नै ‘ग्राउन्डेड’ गर्ने अडान कसेको पनि उनले बताए ।

‘अन्तिम दिन पेनाल्टी रकम उठाउनका लागि एक घन्टासम्म जहाज ‘ग्राउन्डेड’ गर्दा रकम चुक्ता गर्ने प्रतिबद्धता त जनायो तर चुक्त गरेन ।’ उनले भने ‘जहाज ‘ग्राउन्डेड’ गर्दा एअर एसियाको केन्द्रीय कार्यालय मलेसियाले बक्यौता तिर्ने प्रतिबद्धता जनाउनुका साथै नेपालस्थित मलेसियन राजदूतावासले पनि बक्यौता उठाउने सहयोग गर्ने जनाएपछि जहाज छोडियो ।’

उडान बन्द गरेको १५ दिन बितिसक्दा पनि एअर एसियाले रकम चुक्ता गर्ने कुनै संकेत नदेखाएकाले पेनाल्टी रकम बुझाउनुको साटो छुट गराएर उम्किने पक्षमा कम्पनी रहेको विमास्थल अधिकारीहरुले अडकल गरेका छन् ।

बाँकी रकमको लागि विमानस्थाल कार्यालयले आइतबार एअर एसियाको केन्द्रीय कार्यालयमा पत्राचार गरेको र रकम तिर्न आनाकानी गरेको खण्डमा भने नेपालस्थित मलेसियन दूतावासलाई गुहार्ने तयारीमा कार्यालय रहेको छ ।

मलेसिया जाने कामदार ठप्प भएपछि घाटा भएको भन्दै एअर एसियाले उडान बन्द गर्ने निर्णय गरेको थियो । सोमबार मलेसियासँग श्रम सम्झौता भएसँगै एअर एसियाले फेरि नेपाल उडान गर्न सक्ने अनुमान गरिएको छ ।

त्यसैगरी अन्तर्रा्ष्ट्रिय उडान भर्ने एयर एसिया कम्पनीले प्रतिपर्यटक एक हजार शुल्क उठाएर नेपाल पर्यटन बोर्डलाई दिनुपर्ने सात करोड २३ लाख रुपियाँ पनि बुझाएको छैन ।

Advertisement

Advertisement

Advertisement