सुलभ मास्के अष्ट्रेलियाको ‘एएफए कप २०१८’ को उत्कृष्ट गोलकर्ता उपाधिबाट पुरस्कृत

Advertisement

काठमाडौं । नेपाली युवा फुटबलर सुलभ मास्के अष्ट्रेलियामा वर्षको उत्कृष्ट गोल गरेकोमा पुरस्कृत भएका छन् । अष्ट्रेलियन एफए कपको राउन्ड अफ ३२ अन्तर्गत हेलेकिन एट्लेटिकका लागि उनले गरेको गोलनै ‘एएफए कप २०१८’ को उत्कृष्ट गोल बन्न सफल भएको हो ।

फुटबल अस्ट्रेलियाले पहिलो पटक दिएको अवार्डमा मास्केले उपाधि जित्न सफल भएका हुन्। उत्कृष्ट गोलको अवार्डको मनोनयनमा परेका १० मध्ये सबैभन्दा बढी मत पाउँदै मास्के विजेता भएका हुन् ।

अहिले डार्बिनको ए डिभिजन क्लब हेलेनिक एथ्लेटिक्सबाट ब्यवसायीक फुटबल खेल्दै आएका शुलभले एफएफए कपमा सिड्नीको सिड्नी वन्डर्स विरुद्ध दुई गोल गरेका थिए । उनले गरेका दुबै गोल खेलको आकर्षणका केन्द्र बनेका थिए । एउटा निकै साँघुरो एंगलबाट हानेको फ्रिकीकलाई गोलमा परिणत गरेका शुलभले कमेन्टेटरकोसमेत वाहवाही पाएका थिए । उनै मास्केले गरेको उक्त गोललाई अष्ट्रेलियन फुटबलले उत्कृष्ट गोलको मनोनयनमा राखेको छ ।

उनी नेपालका राम्रा फुटबलरको सूचीमा पर्थे । मनाङ मर्स्याङ्दीबाट ब्यवसायीक फुटबल खेल्ने सुलभ मास्के नेपाली फुटबलमा प्रतिभाशाली खेलाडीका रूपमा स्थापित भइसकेका थिए ।

नेपाली फुटबलमा चिनिएका सुलभ खेल्दा खेल्दै उच्च अध्ययनका लागि अस्ट्रेलिया हानिए, धेरैले पत्तो पनि पाएनन् । नेपाली फुटबलको खिचातानी र लिगको अस्तब्यस्तले त्रस्त भइसकेका मास्केलाई अस्ट्रेलियामा केही गर्न सकिन्छ भन्ने आशा थियो ।

केही समय अध्ययन र अध्यापनले थिचिएका मास्के अस्ट्रेलियाको उत्तरी शहर डार्बिनमा बस्न थाले । आफूले जानेको कलालाई लुकाएर राख्नु हुन्न भन्ने परिवारको सल्लाह र आफ्नो लगावले उनलाई त्यहाँ पनि फुटबलमा तान्यो ।

नेपाली समाज भित्र भइरहने थुप्रै प्रतियोगितामा मेलवर्न र सिड्नी चक्कर लगाए । यसैबीच उनले डार्बिनकै ब्यवसायीक क्लबबाट फुटबल खेल्ने मौका पाए ।

अस्ट्रेलियाको उत्तरी भेगीय लिग फुटबलमा १९ गोल गरेर सर्वाधिक गोलकर्ता समेत बनेका सुलभ नेपाली यू १९ फुटबल टोलीका पूर्व कप्तानसमेत हुन् ।

Advertisement

Advertisement