गौचन हत्याका नाइके समिरमानकी पत्नि माया शेरचन पक्राउ

Advertisement

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचनको हत्या अभियोगमा पक्राउ परी हाल जेलमा रहेका गुण्डा नाइके समीरमान बस्नेतकी पत्नी माया शेरचन बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ।

केही समयअघि समिरलाई जेल परिवर्तन गरेर मुस्ताङ लैजाने क्रममा आफ्नो पतिलाई इन्काउन्टर गर्न लागिएको भन्दै आफ्नो पतिको रक्षाको मागसहित पत्रकार सम्मेलनसमेत गरेकी मायालाई महानगरीय अपराध महाशाखाका टोलीले काठमाडौंबाट पक्राउ गरेको हो ।

शरद गौचनलाई गोली हान्नेसहित तीन जना अभियुक्तहरु पक्राउ परेपछि समिरले जेलभित्रैबाट आपराधिक क्रियाकलाप जारी राखेको तथ्य प्रहरीले सार्वजनिक गरेको थियो । त्यस कार्यमा समिरलाई उनकी पत्नी मायाले सघाउँदै आएको प्रहरीको दावी छ ।

गौचनसहितका व्यवसायीको हत्या तथा अन्य अपराधका घटनामा संलग्न भएको अभियोगमा मायालाई पक्राउ गरिएको महाशाखाको भनाई छ । नयाँबानेश्वरस्थित आलोकनगरमा भएको गौचन हत्या अभियोगमा यही कात्तिक १२ गते प्रहरीले हत्याको जिम्मेवारी लिने लोप्साङ लामा, अम्बरबहादुर राना र रोशन बुढाथोकीलाई पक्राउ गरेको थियो ।

मायालाई काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पूर्जी लिएर समातिएको जनाइएको छ । उनको गौचन तथा नेकपा एमालेनिकट युवा संघ रुपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्या र अन्य अपराधमा पनि मिलेमतो रहेको पाइएको प्रहरीले दावी गरेको छ ।

मायाले दावालाई गोली हान्ने बेलामा काठमाडौंको सितापाइलामा सुटर अम्बर बहादुर रानालाई पेस्तोल दिएकी र पछि दावालाई गोली हानेपछि आफूले समीरको श्रीमतीलाई पेस्तोल फिर्ता गरेको अम्बरले बयानका क्रममा बताएका थिए । गौचनलाई गोली हान्ने बेलामा पनि समीरकै श्रीमतीले पेस्तोल दिएको र आफूले गोली हानेको अम्बरले बताएका छन्।

Advertisement

Advertisement

Advertisement