बिआरआईलाई ‘चिनियाँ ऋणको जाल’ भनेकोमा चिनियाँ राजदूतको आपत्ति

Advertisement

काठमाडौं । चीनले पाँच वर्षअघि अघि सारेको ‘वेल्ट एण्ड रोड इनिशिएटिभ’ (बिआरआई) दक्षिण एशिया र नेपालका निम्ति कसरी लाभदायी हुन्छ भन्नेबारेमा विद्वत् बहस गर्न दुईदिवसीय अन्तर्राष्ट्रिय सम्मेलन राजधानीमा प्रारम्भ भएको छ ।

नेपालसहित दक्षिण एशियाली देशलाई सडकलगायत भौतिक सम्पर्क सञ्जालबाट चीनसँग जोडिँदा व्यापार तथा लगानीका क्षेत्रमा सबैलाई लाभ हुने अभिमतका साथ नेपाल–चीन मैत्री मञ्चले सम्मेलन आयोजना गरेको हो । सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री युवराज खतिवडाले यो शताब्दीकै सबैभन्दा बृहत् परियोजना बिआरआईले दक्षिण एशियाको मात्र नभइ त्यो कार्यान्वयन हुने क्षेत्रको विकासको रुपरेखा रुपान्तरण गर्ने बताए ।

उनले भने, “बिआरआईमा आबद्ध सबैलाई लाभ हुनेछ, यो परियोजना केही दिने र केही लिने खालको होइन । यसप्रति सशङ्कित हुनुपर्दैन” बिआरआईबाट नेपाललाई समुद्रसम्मको पहुँच प्राप्ति हुनेछ भने आर्थिक गतिविधि बढाउन, दक्षिण तथा मध्य एशियाली देशसँग सम्पर्क र आर्थिक सम्बन्ध बढाउन सहयोग पुग्ने बताए ।

मन्त्री खतिवडाले भौतिक पूर्वाधार विकासका अभावलाई बिआरआईले केही हदसम्म भए पनि परिपूर्ति गर्ने, योजना तर्जुमा गर्ने, साथसाथै कार्यान्वयन र प्रतिफल प्राप्त गर्ने पारस्परिक लाभको उक्त परियोजनाले नेपालको लगानीको अभावलाई सम्बोधन गर्ने बताए ।

नेपालका लागि चीनका राजदूत यु होङले साझा समृद्धिका लागि बिआरआई कार्यान्वयनमा चीनले जोड दिएको बताउँदै त्यसलाई परिणामुखी बनाउन दक्षिण एशियाली मुलुक चीनका निम्ति अति महत्वपूर्ण छन् भनिन् । बिआरआईले सकारात्मक प्रगति गरिरहेका बेला हाम्रो सहयोगलाई अवमूल्यनको प्रयास गर्दै त्यसलाई तथाकथित ‘चिनियाँ ऋणको जाल’ भनिएकामा सार्वजनिकरुपमै राजदूत युले आपत्ति जनाइन ।

होङले स्पष्टीकरण दिँदै भनिन्, “बिआरआईको भूराजनीतिक उद्देश्य छैन, यसले कसैलाई तारो पनि बनाएको छैन र यसमा कसैलाई समावेश नगर्ने भन्ने पनि छैन, यो चीन र बाँकी विश्वको समुज्ज्वल भविष्यका लागि हो ।”

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शङ्कर शर्माले सबै देशको आर्थिक विकास र सुधारलाई केन्द्रमा राखेर अघि सारिएको विशाल परियोजना नेपाल जस्तो अल्पविकसित देशमा निम्ति फलदायी हुने बताए । प्राध्यापक ये हाइलिनले चीनले कसैसँग प्रतिस्पर्धा गर्न बिआरआई परियोजना नल्याएको स्पष्ट गर्दै विश्वका सबै देशको समृद्धिको साझा यात्रालाई यथार्थमा अनुवाद गर्न उद्देश्यले आएको बताए ।

सम्मेलन आयोजक मञ्चका अध्यक्ष कल्याणराज शर्माले नेपाल बिआरआई परियोजनाको सक्रिय साझेदार भएको बताउँदै त्यसबाट नेपालको पर्यटन र लगानीका अथाह अवसर प्राप्त हुने विश्वास व्यक्त गरे । सम्मेलनमा चीन, भारत, बङ्गलादेशलगायत मुलुकका विद्वत् वर्ग र कूटनीतिक छन् ।

Advertisement

Advertisement

Advertisement