ठेकेदारले छाडे पनि निर्धारित समयभित्रै मेलम्ची आयोजना सम्पन्न हुने मन्त्रालयको दाबी

Advertisement

काठमाडौं– खानेपानी मन्त्रालयले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना निर्धारित समयभित्र सम्पन्न गर्ने दाबी गरेको छ । आयोजना निर्माणमा संलग्न इटलियन कम्पनी कोअपरेटिभ मुरातोरी सिमेस्ट्री(सिएमसी)ले काम छाडे पनि मन्त्रालयले समस्याको समाधान गरेर समयसीमा भित्रै काम सक्ने दाबी गरेको हो ।

मेलम्ची आयोजनाको कार्य सम्पन्न गर्ने समयसीमा ४६ दिनमात्र बाँकी रहदा सीएमसीका प्रमूख म्यानेजर क्रिष्टियानो ग्रेसहितको टोलीले निर्माण कार्य छाडेर हिडेका थिए ।

सिएमसीले भूकम्प, नाकाबन्दीलगायत विभिन्न कारणले आयोजना निर्माणमा भएको ढिलाइका कारण निर्माण कम्पनीले थप क्षति व्यहोर्नुपरेको भन्दै क्षतिपूर्ति रकम आयोजना समक्ष मागदाबी गरेको थिया े। तर सो बापतको रकम आयोजनाबाट पाउन नसकेपछि सिएमसीले २ साताअगि नै काम छाड्ने सूचना दिएको थियो ।

तर आयोजनाले समयमै सुनुवाई नगरेको भन्दै उनीहरु काम छाडर स्वदेश फर्कन खोजेका थिए।

तर सरोकारवाला खानेपानी मन्त्रालयले भने ठेकेदारले एकतर्फीरुपमा लापरवाही गरी काम छाडेको आरोप लगाएको छ । गत आईतबार म्यानेजर ग्रे सहितका आठ जनालाई नियन्त्रणमा लिएर उनीहरुको राहदानीसमेत सरकारले जफत गरेको छ ।

मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै भनेको छ, ‘पछिल्लो समय ठेकेदार कम्पनीका कामदारहरूको लापरवाहीले गर्दा विकसित परिस्थितीले आम जनतामा आयोजनाप्रति भ्रम सिर्जना भएको छ ।’ तर त्यसमा आशंका नगर्न मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले निर्धारित कार्यतालिका प्रभावित नहुने गरी आयोजनाको निर्माण कार्यका लागि विभिन्न विकल्पमा छलफल भइरहेको जनाएको छ । मन्त्रालयले सोमबार र मंगलबार समस्या समाधानका लागि मेलम्ची खानेपानी विकास समिति र ठेकेदार कम्पनीका प्रतिनिधि, परामर्शदाता इप्टिसा, एसियाली विकास बैँकलगायत सरोकारवाला संस्था र ब्यक्तिहरुसँग विभिन्न चरणमा परामर्श गरेको छ ।

मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरका अनुसार कानुन अनुसारका जुनसुकै विकल्प प्रयोग गरेर भए पनि अयोजना समयमै सकिनेछ । विज्ञप्तीमा भनिएको छ, ‘ अहिलेकै(सीएमसी) ठेकेदारले काम नगर्ने अवस्थामा पनि समयसीमा भित्रै आयोजन सम्पन्न गर्न मन्त्रालय तयार छ ।’

Advertisement

Advertisement

Advertisement