आर्थिक संकटमा परेको हिमालय एयरलाइन्सको आँखा नेपाल वायुसेवा निगमको व्यवस्थापनमा

Advertisement

काठमाडौं । आर्थिकरुपमा करिव टाट पल्टिएको निजी क्षेत्रको वायुसेवा हिमालय एयरलाइन्सले सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमको व्यवस्थापनमा आँखा लगाउन थालेको छ । आफ्नो व्यवस्थापन असफल भएसँगै हिमालय एयरलाइन्स सञ्चालन गर्ने समूहले निगममा आफ्नो पडक जमाउन लागेको हो ।

चिनियाँ लगानी भएकाले दिल्लीमा उड्न नपाएको र अन्य गन्तव्यमा पनि एक पछि अर्को गरी असफल भएको हिमालय एयरलाइन्सका मुख्य नेपाली लगानीकर्ता आङछिरिङ शेर्पासमेतले निगमको व्यवस्थापन हात पार्न लबिङमा लागेका छन् ।

शेर्पालाई एक जना हतियार तथा हाइड्रोपावरका व्यापारी, एक मिडिया सञ्चालक र एजेन्सी विजनेश गर्ने व्यापारीले साथ दिएका छन् । हिमालय एयरलाइन्सका सञ्चालकहरुले निगमको व्यवस्थापन हात पार्न लबिङ गरिरहेको बेला निगमका कार्यकारी अध्यक्ष मदन खरेलले पनि सञ्चालकसँगको छलफलमा हिमालय एयरलाइन्ससँग सहकार्यको प्रस्ताव गरेको निगमका एक सञ्चालकले बताए ।

उनले भने, ‘उहाँ (खरेल)ले रणनीतिक साझेदार ल्याउने कुरामा हिमालय एयरलाइन्ससँग सहकार्यको कुरा गर्नुभएको हो । उहाँले कस्तो सहकार्य गर्न खोज्या हो हामीले अल्ली बुझ्न सक्या छैन् । तर उहाँले कुरा चाहीं गर्नुभएको हो ।’

यता निगमको आधिकारिक युनियनका अध्यक्ष सुभाष डाँगीले कर्पोरेट नेपालसँगको कुराकानीमा निगमलाई हानी हुने गरेर कुनै पनि प्रतिस्पर्धीसँग गरिने सहकार्य कर्मचारीहरुलाई मान्य नहुने बताए । उनले भने, ‘प्यासेन्जरहरु एक्सचेन्ज गर्ने विषयको हिमालय एयरलाइन्सको चिट्ठी आएको त सुनेको छु । त्योभन्दा बाहिर अरु कुरा अहिलेसम्म सहकार्यको कुरा सुनेको छैन । यति त्यसरी गरियो भने हामीलाई मान्य हुँदैन् ।’

दोहाबाहेक अन्य गन्तव्यमा एकपछि अर्को असफलतासँगै करोडौं घाटा खाएर जहाज पार्किङको पैसासमेत तिर्न नसकेको हिमालय एयरलाइन्सले रणनीतिक योजनाअनुसार आफ्नो जहाज भाडा विदेशी वायुसेवा कम्पनीलाई भाडामा दिएर निगमको व्यवस्थापन आफूले चलाउन खोजेको हो ।

सोही योजनाअनुसार उसले निगमका महाप्रवन्धकलाई विस्थापित गरेर उनको ठाउँमा मदन खरेललाई कार्यकारी अध्यक्ष बनाएको स्रोतको भनाई छ । कंसाकारलाई निगमबाटै हटाउने आङछिरिङहरुको योजना भए पनि कंसाकारलाई काठमाडौंका स्थानीयको बलियो समर्थन रहेको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि अदालतसम्मले पटक पटक जहाज खरिदको छानबिन गर्दा त्रुटी भेटाउन नसकेकाले सरकारले हटाउने आँट गर्न नसकेको हो ।

आङछिरिङको टिमको योजना भनेको निगममा कुनै विदेशी कम्पनीलाई रणनीतिक साझेदारको रुपमा ३० प्रतिशत लगानी ‘बल्क सेयर’ हाल्न लगाउने, त्यो ३० प्रतिशतमा आफ्नो पनि केही सेयर राखेर निगमले किन्ने भनेको अबका सबै जहाज आफूहरुले किन्ने ।

अहिले दुई वटा वाइडबडी किन्दा मात्रै निगमको आठ अर्ब आम्दानी हुन्छ भने अरु दर्जन जहाज ल्याउँदा यो खर्बमा पुग्छ । त्यही कुरा हिमालय एयरलाइन्सबाट संभव नहुने भएपछि यो समूहले निगमलाई नै उपयोग गर्न लागेको स्रोतको भनाई छ । आङछिरिङ समूह चाहना कतारलाई रणनीतिक साझेदार बनाउने रहेको छ । त्यो भएन भने अन्य विकल्प खोज्ने उनीहरुको योजना रहेको छ ।

यो योजनाका लागि आङछिरिङको समूहले यसअघि पटक पटक प्रयास गरेको, तर कंसाकारले नटेरेपछि खरेललाई भित्राएका थिए । आङछिरिङले करिव सात महिनाअघि कंसाकारलाई भेटेर आफ्नो प्रस्तावमा सहयोग गर्न आग्रह गरेका थिए । तर कंसाकारले अस्वीकार गरेपछि उनी निराश भएर फर्किएका थिए ।

आङछिरिङ फर्किएसँगै कंसाकारलाई निगमबाट आउट गर्ने योजना सुरु भएको थियो । त्यसको विकल्पको रुपमा मदन खरेललाई ल्याइएको हो । उनी यसअघि पनि निगमको कार्यकारी भइसकेका व्यक्ति हुन् । प्रधानमन्त्री केपी ओलीसँग नातासमेत जोगिएका र ओलीकै गृहजिल्लाका खरेललाई कार्यकारी अध्यक्ष बनाउन उनकी श्रीमतीले समेत निकै मेहनत गरेकी छन् ।

हिमालय एयरलाइन्सको स्वार्थअनुसार मदन खरेलले निगमको वाइडबडी जहाज टोकियो नउडाएर ओशाका उडाउने तयारी गरेका छन् । टोकियोका लागि यसअघि नै हिमालय एयरलाइन्सले उडान सञ्चालन गर्ने योजना बनाएको छ । टोकियोमा धेरै नेपालीको बसोबास रहेको क्षेत्र पनि हो । तर खासै नेपालीको बसोबार नरहेको आशाकामा उडान सुरु गर्दा निगमलाई भारी नोक्सानी हुने देखिन्छ । यस्ता गतिविधिहरु खरेलले निगमका लागिको लागि भन्दा पनि कसैको इशासामा गरेको स्रोतको भनाई छ ।

हिमालय एयरलाइन्सका सञ्चालकहरुले भने निगमका लागि रणनीतिक साझेदार भित्राउने काम चाँडै गर्न मन्त्रीदेखि नेता र प्रशासकहरुलाई निरन्तर भेट गर्दै आएको छन् । अहिलेको पद्दती र तरिकाबाट निगमको जहाज खरिददेखि सञ्चालन गर्ने कुरा ठिक नभएको भन्दै उनीहरुलाई प्रलोभनसहित प्रभावित पार्ने र व्यवस्थापन हातमा आएपछि जहाज खरिद सुरु गर्ने योजना बनाइएको छ ।

नेपालको यति वल्र्ड इन्भेष्टमेन्ट र चीनको तिब्बत एयरलायन्सको लगानी रहेको हिमालय एयरलाइन्ससँग तीन वटा जहाज छन् । यी जहाजहरु अधिकांश समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै देखिन्छन् । यसलाइन्समा यसअघि पृथ्वीबहादुर पाण्डेको समूह दुई बर्षअघि नै बाहिरिसकेको छ ।

Advertisement

Advertisement

Advertisement