वामदेव भन्छन्– रविन्द्र अधिकारीको निर्वाचन क्षेत्रमा मैले आँखा लगाएको छैन्

Advertisement

काठमाडौं । गएको आम निर्वाचनमा अधिकांश उम्मेदवारहरु विजयी हुँदा पराजित भएका सत्तारुढ नेकपाका प्रभावशाली नेता वामदेव गौतमले हेलिकप्टर दुर्घटनामा मृत्यु भएका रविन्द्र अधिकारीको निर्वाचन क्षेत्रसँग आफ्नो नाम जोडेर चरित्र हत्या गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् ।

रविन्द्र अधिकारीको निर्वाचन क्षेत्रमा वामदेवले आँखा लगाएको समाचार बाहिर आएपछि गौतमले त्यसको खण्डन गर्दै आफ्नो चरित्र हत्या गर्न यो कुरा बाहिर ल्याइएको तर्क गरेका हुन् । यसअघि उनले काठमाडौंका साँसद रामवीर मानन्धरलाई राजीनामा गराएर आफू उम्मेदवार हुने तयारी गरे पनि सो पार्टीका अध्यक्ष केपी ओलीलगायतले नमानेपछि असफल भएको थियो ।

अहिले रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएर अन्त्यष्टि हुन नपाउँदै उनको निर्वाचन क्षेत्रसँग वामदेवको नाम जोडिएर समाचार बाहिर आएको हो । नेकपाको सचिवालय सदस्यसमेत रहेका गौतमले रविन्द्र अधिकारीको निर्वाचन क्षेत्रमा आफूले उम्मेदवारी दिने तयारी गरेकोको कुरामा कुनै सत्यता नरहेको भन्दै भनेका छन्, ‘फेरि कुत्सित उद्देश्य प्रेरित कुप्रचार मेराविरुद्ध सुरु भयो। नेपाली राजनीतिक आकाशका उज्वल भविष्यसहित उदाएका मेरा प्रिय कमरेड रविन्द्र अधिकारीको असामयिक निधनवाट ठूलो धक्का महसुस गर्दै श्रद्धान्जली दिन पोखरा पुगेको घटनालाई आधार बनाएर मलाई दिवंगत रविन्द्रको निर्वाचन क्षेत्रवाट उमेदवार बन्ने आशा राखेको आरोप लगाइएको छ ।

विज्ञप्तिमा उनले थपेका छन्, ‘यो मेरो चरित्र हत्या गर्ने निकृष्ट र षडयन्त्रमूलक विचार राखेर सुरु गरिएको कुप्रचार मात्र हो।’
गौतमले यस्तो निर्णय पार्टीले गरे पनि आफूले स्वीकार नगर्ने बताएका छन् । उनले मृत्युको शोकमा व्यक्तिगत स्वार्थ पूरा गर्ने विचारलाई आफूले कहिल्यै मान्यता नदिएको प्रष्ट्याएका छन् ।

नेता गौतमले भनेका छन्, ‘मृत्यु शोकमा पाइला टेकेर व्यक्तिगत स्वार्थ पूरा गर्ने विचारलाई मैले कहिल्यै मान्यता दिइन जीवनभर दिने पनि छैन । मेरो इच्छाविपरित पार्टीले निर्णय गरेछ भने पनि माननीय कमरेड रवीन्दको दुखद निधनबाट खाली भएको निर्वाचन क्षेत्रमा उमेदवार बन्ने छैन।’ उनले आफ्नो प्रयास उनकै परिवारका सदस्यलाई उम्मेदवार बनाउनतर्फ रहने बताएका छन् ।

Advertisement

Advertisement

Advertisement