अन्योलमा परेको मेलम्चीबारे खानेपानी मन्त्री भन्छिन्– समयमै काम सक्न म लागिरहेको छु

Advertisement

काठमाडौँ । विदेशी ठेकेदारले काम बिचमै छोडेर हिँडेपछि अन्योलमा परेको मेलम्ची खानेपानी आयोजनाको काम सम्पन्न गर्न अझै बर्षौ लाग्नसक्ने र आयोजनामा ठूलो भ्रष्टाचारसमेत भएको समाचारहरु बाहिर आइरहेको बेला खानेपानी मन्त्री विना मगरले भने समयमै आयोजना सक्न आफू लागिपरेको तथा यसमा आफूले कुनै भ्रष्टाचार नगरेको बताएकी छन् ।

आयोजनाको अधिकांश काम सम्पन्न भएको भनिए पनि वितरण प्रणालीमा आउने धेरै समस्या समाधान गरेर सहजरुपमा पानीको वितरण गर्न यदि नेपाली सेनालाई नै काम दिइए पनि कम्तिमा एक बर्ष लाग्ने र अरु ठेकेदार कम्पनीलाई दिँला दुई बर्षभन्दा बढि लाग्नसक्ने सरोकारवालाहरुले बताइरहेको बेला मन्त्री मगरले भने आयोजनाको काम समयमै सक्ने बताएकी हुन् । आयोजना अन्योलमा परेको बेला नेपाल विवेकशील पार्टीले आयोजनामा मन्त्री मगर नै संलग्न भई भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ ।

उनले बुधबार प्रेस विज्ञप्ति जारी गरी राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजना निर्वाधरुपमा अगाडि बढाउन सरकार प्रयत्नशील रहेको बताइन् । मन्त्रालयका तर्फबाट जारी विज्ञप्ति मन्त्री मगरले मेलम्ची खानेपानी विकास समितिले विभिन्न विकल्पमा छलफल गरेकोले छिट्टै आयोजना सम्पन्न गर्ने ठोस निर्णय हुने बताइन । आयोजना आम नेपालीको प्रतीक्षा, प्रतिष्ठा र गौरवको आयोजना भएको भन्दै मन्त्री मगरले चरित्र हत्या गर्ने मनसायका साथ गरिने प्रचारप्रति दुःख व्यक्त गरिन ।

आफ्नो कार्यकालमा नै आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको तथा अधिकांश काम सम्पन्न भए पनि केही काम बाँकी रहेको अवस्थामा इटालियन ठेकेदार कम्पनी सिएमसीले केही महीना पहिले हात झिक्दा समस्या आएको उनको भनाई छ ।

ठेकेदार कम्पनी आर्थिकरुपमा समस्यामा पर्दा आयोजनामा समस्या आएको भन्दै मगरले आयोजना निर्माणको आफ्नै मान्यता हुने र त्यसविपरीत गएर मन्त्री वा कुनै पनि अधिकारीले निर्णय गर्ने अवस्था नभएको बताएकी छन् । कानूनी मान्यता नाघेर कुनै अवैधानिक निर्णय लिन नसक्नेमा जोड दिँदै उनले राज्यद्वारा निर्देशित ऐन, कानूनप्रतिको प्रतिबद्धता र सुशासनप्रतिको सङ्कल्पलाई अक्षुण राख्न प्रतिबद्ध रहेको तर्क अघि सारेकी छन्।

मन्त्री मगरले मेलम्ची खानेपानी विकास समिति आफैंमा स्वायत्त, अधिकार सम्पन्न सरकारी निकाय भएकाले आयोजनाको कुनै पनि निर्णयमा मन्त्रीको हस्ताक्षर नचल्ने र मन्त्रालयका सचिव अध्यक्ष रहने आयोजनामा सञ्चालक समितिको निर्णय नै अन्तिम हुने जानकारी दिएकी छन् ।

आयोजनाको कुनै प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने परिस्थितिमा मात्र मन्त्रीको माध्यम हुँदै पेश हुने मगरको भनाई छ । उनले प्रसङ्ग नै नभएको विषयमा मन्त्रीलाई जोड्न खोज्नु राजनीतिक पूर्वाग्रह र बेइमानी भएको बताएकी छन् । आयोजनाबारे आफूले मन्त्रीका हैसियतले सङ्घीय संसद्, संसद्का विभिन्न समितिमा आधिकारिक धारणा प्रस्तुत गरेको र आयोजना छिटो सम्पन्न गर्न मन्त्रालयले प्रचलित कानूनी प्रावधानको अधिनस्थ हुने र त्यसलाई तोड्नसमेत नमिल्ने मगरको भनाई छ । उनले भनेकी छन्, “आयोजनामा मैले अनियमितता भएको प्रमाणित भए म जुनसुकै सजाय भोग्न तयार छु ।”

Advertisement

Advertisement

Advertisement