मृतकको जग्गा किर्तेगरी नामसारी गर्ने कार्यमा संलग्न मालपोतका कर्मचारीहरुविरुद्ध मुद्दा

Advertisement

काठमाडौं । मृतकको जग्गा किर्ते गरेर नामसारी गर्ने कार्यमा संलग्न मालपोत कार्यालय धरानका तत्कालिन अधिकृत फडिन्द्र भट्टराईसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । जग्गा दलालले मालपोतका कर्मचारीलाई हातमा लिएर मृतकको जग्गा नामसारी गरी बिक्री गर्न सफल भएका थिए ।

अख्तियारका अनुसार मृतकको नामको जग्गा नामासरी गर्ने कार्यमा संलग्न भट्टराईसहित पाँचजनाविरुद्ध मुद्दा दायर गरिएको हो । धरान नगरपालिका ११ को कित्ता नम्बर ३५ र ३६ का जग्गा धनी खगेन्द्रकुमारी गिरीको मृत्यु भएपछि धरान १४ का कर्णबहादुर राईले खगेन्द्रकुमारी गिरीलाई खगेन्द्रकुमारी राई बनाई उक्त जग्गा किर्ते गरी नामसारी गर्न सफल भएको र नामसारी गरेपछि सो जग्गा बिक्रीसमेत गरेको अख्तियारले गरेको अनुसन्धानबाट देखिएको हो ।

मृतकको नामको जग्गा किर्ते गरेर नामसारी गरेको खुलेपछि संलग्न कर्मचारीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । किर्ते नामसारीमा भट्टराईसहित मालपोत कार्यालयका तत्कालीन सुब्बा डिल्लीराम कोइराला, नापी कार्यालय धरानका तत्कालीन सर्वेक्षक योगेन्द्रप्रसाद यादव, खरिदार श्यामप्रसाद लोहार र किर्ते गर्ने कर्णबहादुर राई संलग्न रहेको पाइएको हो ।

Advertisement

Advertisement