रसुवागढी र साञ्जेनको आइपिओबाट ६ अर्ब बढी सङ्कलन, अब लगानीकर्ताले कहिले पाउँछन् प्रतिफल ?

Advertisement

रसुवा । ‘जनताको जलविद्युत अन्तर्गतको रसुवागढी जलविद्युत् कम्पनी र साञ्जेन जलविद्युत् कम्पनीको साधारण सेयर (आइपीओ) बिक्रीबाट ६ अर्ब १७ करोड सङ्कलन भएको छ।

रसुवागढी जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा एक अर्ब ७१ करोड ४३ लाख २६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बिहीबार साँझ ५ बजेसम्म तीन लाख दुई हजार ६२९ जनाले कुल एक करोड ७१ लाख ४३ हजार २६० कित्ता सेयरको लागि माग गरेका हुन् ।

रसुवागढीले कुल १ करोड २ लाख ६३ हजार १५० कित्ता साधारण सेयर मध्ये ९३ लाख ३९ हजार ४६७ कित्ता सेयर सर्वसाधारमा बिक्री गरेको थियो । त्यस्तै, साञ्जेन जलविद्युत कम्पनीको आईपीओमा एक अर्ब ४१ करोड ३२ लाख ८४ हजार रुपियाँ बराबरको सेयर माग गरेका छन् । उक्त आईपीओमा कुल ३ लाख ४ हजार ६९ जनाले एक करोड ४१ लाख ३२ हजार ८४० कित्ता सेयर माग गरेका बिक्री प्रबन्धक लगानीकोषले जनाएको छ ।

साञ्जेनको ५४ लाख ७५ हजार कित्तामध्ये ४९ लाख ८२ हजार २५० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो । बाँकी रहेको २ लाख ७३ हजार ७५० कित्ता म्युचुअल फण्ड र २ लाख १९ हजार कित्ता सेयर कर्मचारीलाई छुट्याएको थियो । यसअघि स्थानीयलाई १० प्रतिशत सेयर निष्कासन गरेपछि मात्रै सर्वसाधारणका लागि सेयर निष्कासन हुने गरेको थियो।

दुबै कम्पनीका लागि ६ लाख ११ हजार आवेदकले आवेदन दिएका थिए। साञ्जेनका लागि ३ लाख ४ हजार आवेदकले १ करोड ४१ लाख कित्ताका लागि आवेदन दिएका थिए। यसबाट १ अर्ब ४१ करोड रुपियाँ संकलन भएको छ। रसुवागढीका लागि ३ लाख ७ हजार आवेदकले १ करोड ७६ लाख कित्ताका लागि आवेदन दिएका थिए। यसबाट १ अर्ब ७६ करोड रुपियाँ संकलन भएको छ। दुबै कम्पनीले बैशाख ६ गतेदेखि बैशाख १२ गतेसम्म १ सय रुपयाँका दरले आइपिओ निष्कासन गरेका थिए।

निष्कासन हुने सेयरमध्ये दुबै कम्पनीले ४ प्रतिशत कम्पनीका कर्मचारी र ५ प्रतिशत म्युचुअल फन्डका लागि छुट्याएका छन्। यी दुबै आयोजना जनताको जलविद्युत् कार्यक्रममा समेटिएको छ। सर्वसाधारणका लागि सेयर निष्कासन भएको ६ महिनामा जिल्लाबासीका लागि सेयर जारी हुन्छ।

जिल्लाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा निर्माण भइरहेको रसुवागढी जलविद्युत् आयोजनाको ६८ प्रतिशत काम पूरा भएको छ। ०७६ फागुन ७ गते सम्ममा विद्युत उत्पादन सुरु गर्ने आयोजनाले जनाएको छ। रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ चिलिमेमा निर्माण भइरहेको माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको ८० प्रतिशत काम पूरा भएको छ। २०७६ पुसभित्र काम सम्पन्न गर्ने गरी निर्माण कार्य भइरहेको आयोजनाले जनाएको छ। यसको उत्पादन क्षमता १४.८ मेगावाट रहेको छ।

त्यसैगरी, ४२.५ मेगावाट क्षमताको साञ्जेन जलविद्युत् आयोजनाको ७० प्रतिशत काम सकिएको छ। यो आयोजनाले २०७७ जेठभित्र उत्पादन सुरु गर्नेछ।

Advertisement

Advertisement

Advertisement