नेपाल आयल निगमद्धारा सातै प्रदेशमा ग्यास प्लान्ट खोल्ने निर्णय

Advertisement

काठमाडौँ । नेपाल आयल निगमले सातै प्रदेशमा खाना पकाउने एलपी ग्यासको रिफिलिङ प्लान्ट खोल्ने निर्णय गरेको छ । निगमले प्रदेश सरकारको सहकार्यमा ग्यास प्लान्ट खोल्ने निर्णय गरेको हो । नेपालमा हाल निजी क्षेत्रसँग मात्रै ग्यास प्लान्ट रहेको छ ।

हाल मुलुकभरि ५७ ग्यास उद्योग छन् । ती उद्योगले मासिक औसतमा ४० हजार टन ग्यास आयात गरी रिफिलिङ गर्दै आएका छन् । आफ्नो माग सम्बोधन गराउन प्लान्ट नै बन्द गराउने चेतावनी र पीडीओसमेत उठाउन अस्वीकार गरेपछि निगम स्वयंले उद्योग खोल्ने योजना बनाएको हो । निगमले ग्यास प्लान्ट खोल्ने निर्णय गरे पनि कति क्षमताको बनाउने तय गरेको छैन । प्रदेश सरकारसँग छलफल भने भइरहेको छ । प्रदेश सरकारसँग संयुक्त लगानीमा सञ्चालन गर्ने उसको योजना छ ।

प्रदेश सरकारले सञ्चालनमा इच्छा नदेखाए पनि झापामा भने निगमले उद्योग खोल्ने जनाएको छ । त्यहाँ निगमको आफ्नै जग्गा छ । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह क्षेत्र भएकाले पनि प्राथमिकता दिइएको छ । ग्यासबाहेक निगमले आधुनिक पेट्रोल पम्प निर्माण गर्ने योजनासमेत बनाएको छ । यसअघि आपूर्ति मन्त्रालय र आईओसीबीच भएको पाँचवर्षे इन्धन नवीकरण सम्झौताको क्रममा मन्त्रालयले लगानी गर्न प्रस्ताव गरेको थियो । सोही प्रस्तावअनुसार लगानीको सम्भाव्यता अध्ययन गर्न आईओसीको टोली पनि नेपाल आएको थियो । आईओसीका वाणिज्य महाप्रबन्धक एसएस बोस नेतृत्वमा ५ सदस्यीय टोली नेपाल आएको थियो ।

त्यसक्रममा आईओसीको ४९ प्रतिशत र निगमको ५१ प्रतिशत लगानीमा कम्तीमा ५० पम्प खोल्न प्रस्ताव गरिएको थियो । व्यवसायीहरूले पम्पमा गरिने भारतीय लगानीको विरोध गरेपछि आईओसीको संयुक्त लगानीमा पम्प सञ्चालन गर्ने योजना तुहिएको थियो । अहिले निगमले पुनः पम्प खोल्ने निर्णय गरेको हो ।

Advertisement

Advertisement