होटल उदघाटन गर्न पोखरा गएका प्रधानमन्त्री उदघाटन नै नगरी फर्किए

Advertisement

पोखरा । उच्च नेतृत्वलाई राजनीतिक प्रभावमा पार्दा वा सही सन्देश नदिँदाको परिणाम कस्तो हुन्छ भन्ने पुष्टि पोखरास्थित होटल उद्घाटनको कार्यक्रमबाट भएको छ। शनिबार होटल उद्घाटन गर्न पोखरा आएका प्रधानमन्त्री केपी ओली नराम्रोसँग चुके।

सो घटनालाई धेरैले कच्चा शैली भनेर टिप्पणी गरे। प्रधानमन्त्री ओली शनिबार होटल उद्घाटन, स्काउट सम्मेलन र रवीन्द्र अधिकारी प्रतिष्ठान घोषणामा सहभागी हुने कार्यक्रम थियो। उनको पहिलो कार्यक्रम लेकसाइडस्थित स्विस इन्टरनेसनल होटल सरोवर उद्घाटन गर्ने थियो। लगत्तै स्काउट र अन्तिममा प्रतिष्ठानको कार्यक्रममा सहभागी हुने तालिका थियो।

कार्यतालिकाबमोजिम ओली बिहान साढे १० बजे होटल प्रवेश गरेका थिए। प्रधानमन्त्री आएपछि उद्घाटन सत्र चल्ने भन्दै अन्तिम तयारी गरियो। भुइँतलाको हलमा सबै पाहुना र सञ्चारकर्मी पुर्याइए। प्रधानमन्त्री आउन थालेको भन्दै सुरक्षा कडाइबीच कार्यक्रमको तयारी थालियो। संघीय र प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्यलगायत उच्च नेतृत्व र पाहुना हलमा पुर्याइए।

तर प्रधानमन्त्रीले आराम गर्न लागेको भन्दै कार्यक्रम पछाडि सारियो। त्यसपछि पाहुनालाई खाना खुवाएर कार्यक्रम गर्ने भन्दै झन्डै दुई घन्टा पर्खाइयो। अन्ततः प्रधानमन्त्री ओली होटल उद्घाटनै नगरी बाहिरिए। सबैभन्दा माथिल्लो तलामा दुई घन्टा बसेर खाना खाइवरी होटलको संरचना बुझेर ओली उद्घाटन नगरीकनै फर्किएका थिए। होटलमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहितका मन्त्रीहरू, पर्यटन व्यवसायीसहित उच्च सरकारी कर्मचारी सहभागी थिए।

स्विस इन्टरनेसनल होटल सरोवर भुइँसहित १० तलाको भवन हो। यो होटल भवन बनेदेखि नै पोखरामा मापदण्डविपरीत भन्दै चर्चा बढेको थियो। होटल सञ्चालक प्राध्यापक भरतराज पहारी हुन्। उनी पोखरा महानगरपालिकाको मापदण्ड निर्धारण समितिका संयोजक पनि हुन्। मापदण्ड निर्धारण समितिका पदाधिकारीले नै त्यसरी होटल बनाएको भन्दै आलोचना हुँदै आएको थियो। त्यही होटल उद्घाटन गर्न प्रधानमन्त्री आउने भएपछि आलोचनाले झन् चर्को रूप लिएको थियो। आलोचना हुँदाहुँदै प्रधानमन्त्री होटल उद्घाटन गर्न आएका थिए।

‘पहिलो कुरा, मापदण्डविपरीत बनेको होटल उद्घाटन गर्न प्र्रधानमन्त्री आउनै हुन्नथ्यो,’ एक अग्रज व्यावसायीले भने, ‘निजी कार्यक्रममा आउनु फरक होला तर मापदण्डविपरीत पूर्वाधार बनेको छ भन्ने थाहा पाउँदापाउँदै पनि उद्घाटन गर्न आउनु कमजोरी हो।’ प्रधानमन्त्रीलाई थाहै नदिई राजनीतिक प्रभावमा पारेर होटल उद्घाटन गर्न बोलाएको भन्दै ती व्यावसायीले आलोचना गरे।

‘कमसेकम यति तयारी भएपछि प्रधानमन्त्रीले लगानीकर्तालाई उत्साही बनाउने गरी केही कुरा भन्नुपथ्र्यो,’ अर्का एक व्यावसायीले भने, ‘मापदण्ड विवादलाई एकातिर थाती राखेर लगानी सुरक्षा र पर्यटनबारे केही दिनुपर्ने सुझावसमेत सल्लाहकारले प्रधानमन्त्रीलाई दिएनन्।’ मापदण्ड पुनरवलोकन गर्न सकिने तर पर्यटनका लागि ठूलो लगानीका पूर्वाधार आवश्यक रहेको भन्ने सन्देश दिन प्रधानमन्त्री चुकेको उनको भनाइ छ।

पृथ्वीनारायण क्याम्पसका राजनीतिशास्त्रका प्राध्यापक कपिलमणि दाहालले उच्च पदस्थ पदाधिकारीमा कस्तो कार्यक्रममा जाने भन्ने नीति नै नभएको प्रतिक्रिया दिए। त्यस्तो अवस्थामा प्रधानमन्त्रीले नै होटल उद्घाटन गर्ने वा नगर्ने भन्ने विचार गर्नुपर्ने उनको भनाइ छ। कार्यकर्ताका कारण उच्च तहको नेतृत्वमा यस्तो समस्या आउने गरेको उनले बताए। ‘प्रधानमन्त्री थाहै नपाएर आएका होइनन्, उनीसम्म सन्देश पुर्याउनेले विचार गर्नुपथ्र्यो,’ दाहाल भन्छन्, ‘कार्यक्रमबारे बुझ्न नसकेको पक्कै होइन।’

राजनीतिक प्रभाव बढेकाले पनि यो समस्या आएको उनले बताए। यसअघि उपराष्ट्रपति नन्दबहादु पुन पोखराको बुद्धचोकमा मापदण्डविपरीत निर्माण भएको १० तले होटल टास्क इन्टरनेसनलको उद्घाटन गरेर आलोचित भएका थिए। पहारी विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेका व्यक्ति हुन्। गत मंसिरमा भ्रष्टाचार मुद्दा फैसला हुँदा उनी दोषी ठहरिएका थिए। करिब एक करोड रुपैयाँबराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै विशेष अदालतले उनलाई कैद तथा जरिवाना फैसला सुनाएको थियो।

लगानीकर्ता पहारीले होटल बनाउँदा झन्डै दुई अर्ब रुपैयाँ खर्चेको जानकारी दिए। इन्जिनियरसमेत रहेका पहारीले आर्थिक विकास गरेर उदाहरणीय बन्न ठूलो लगानी गरेको बताए। मापदण्ड तोक्ने निकायमै रहेकाले आफूले मापदण्ड नतोकेको बरु महानगरले यसअघि नै पास भएको मापदण्डलाई कार्यान्वयनमा नल्याउँदा आफूलाई आरोप लागेको उनले बताए। ‘

महानगरपालिकाभित्र भवन मापदण्ड कति हुनुपर्छ भन्ने तोक्ने मान्छे म नै हुँ,’ उनले भने, ‘तर मलाई नै मापदण्ड मिचेको आरोप छ। महानगरपालिकाले गल्ती गर्दा त्यसको आरोप मलाई लागेको छ।’ २०७२ पुसमा नगरसभाले पास गरेको मापदण्डअनुसार नै पूर्वाधार बनाएको पहारीको दाबी छ। ‘नगरसभाले पास गरेको मापदण्डअनुसार यहाँ भवन बनाएको हुँ,’ उनले भने, ‘मैले १८ तलासम्मको भवन बनाउन पाउँछु।

जमिनको मापदण्डअनुसार मैले भवन बनाएको छु।’ महानगरले राजपत्रमा सूचना प्रकाशित गरी ६ महिनाभित्र मापदण्ड नियमन गर्न भनेर त्योबेला भने पनि नगरेको उनले बताए। २०७२ सालमा पास भएको नियम किन लागू भएन भनेर स्थानीय तहले जवाफ दिनुपर्ने उनले बताए।

महानगरपालिकाका मेयर मानबहादुर जिसीका अनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लागू हुनुपूर्व बनेका पूर्वाधारलाई ३५ दिने सूचना निकालेर सम्पन्नता दिने भए पनि त्यसको प्रक्रिया बल्ल चलेको बताए। झन्डै तीन साताअघि त्यो सूचना आएको र त्यसको प्रक्रियाअनुसार अघि बढ्ने उनले बताए। ‘सरोवर होटलले महानगरसँग सम्पन्नताको प्रमाणपत्र लिएको छैन। विधिसम्मत नरहेकालाई हामी अब ट्र्याकमा ल्याउँदैछौं,’ उनले भने, ‘प्रक्रिया चल्दैमा पूर्णता भयो भन्न मिल्दैन।’

पोखरा महानगरपालिकाका इन्जिनियर शारदामोहन काफ्लेले लेकसाइडमा महानगरको अनुमतिबिना धेरै नै अग्ला घर बनेकाले तिनको नियमन गर्न लागेको बताए। प्राविधिक रूपमा मापदण्ड पुगेका अग्ला भवनलाई तीन गुणा बढी राजस्व लिएर अनुमति दिने तयारी भएको काफ्लेले बताए। उनका अनुसार महानगरले वैशाख अन्तिम साता ३५ दिने सूचना जारी गरी घर नियमित गर्न पोखरेलीलाई आग्रह गरेको छ। ‘पुरानो मापदण्डअनुसार ३५ फिट अग्ला घर बनाउन नपाउने नियम थियो। तर त्यो नियम कडाइका साथ लागू हुन सकेन तर अब जग्गाको मापदण्ड पुगेका र प्राविधिक रूपमा सही तरिकाले निर्माण गरिएका अग्ला भवनलाई पनि नियमित गर्ने तयारी भएको उनले बताए।

मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा यो सिजनदेखि स्विस इन्टरनेसनल होटल सरोवर सञ्चालनमा आएको हो। ९६ कोठाको यो रिसोर्ट निकै आकर्षक र सुविधासम्पन्न छ। पोखरामा गुणस्तरीय पाहुना भित्रायाउने र उनीहरूलाई आतिथ्य दिने यो रिसोर्टको लक्ष्य रहेको पहारीले बताए। ‘अहिलेसम्म हामी सतही रूपमा मात्र प्रतिस्पर्धा गरेका छौं। अब यो तरिकाले ठूलो लगानी सुरक्षित हुन सक्दैन,’ उनले भने, ‘यसमा फरकपन चाहिन्छ। त्यही फरकपनको आधार हामीसँग छ।’

नागरिक दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement