सरकारले भ्रमण वर्ष २०२० घोषणा गरेपनि अझै राजधानीमा पर्यटकीय बसपार्क छैन

Advertisement

काठमाडौं । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेपनि मुलुकको राजधानी काठमाडौंमा भने अहिलेसम्म पर्यटकीय सवारी साधनका लागि छुट्टै बसपार्क बन्न सकेको छैन ।

मुलुकको आर्थिक मेरुदण्डको महत्वपूर्ण क्षेत्रको रुपमा रहेको पर्यटकीय बसका लागि बसपार्क नहुँदा सोह्रखुट्टेको सडकबाट सवारी साधन देशका प्रमुख पर्यटकीय गन्तव्यस्थलमा जान बाध्य भएका छन् ।

काठमाडौंदेखि पोखरा, चितवनको सौराहा, लुम्बिनी, जनकपुर लगायतका प्रमुख पर्यटकीयस्थलमा स्वदेशी तथा विदेशी पर्यटक लैजानका लागि सवारी साधन सञ्चालन हुँदै आएका छन् । विगत वर्षमा जमलस्थित कान्तिपथ सडकबाट पर्यटक ओसार्ने गरेपनि गृहमन्त्री रामबहादुर थापाले अगाडि सारेको गृह प्रशासन सुधार योजना अनुरुप गतवर्षको असार १६ गते काठमाडौं महानगरपालिका, ट्राफिक प्रहरीलगायतले पर्यटक बसलाई कान्तिपथबाट हटाएर सोह्रखुट्टे सडकमा अस्थायी बसपार्कको रुपमा व्यवस्था गरेको थियो ।

काठमाडौं महानगरपालिकाले कान्तिपथ क्षेत्रमा धेरै भिडभाड हुने भएकाले उक्त क्षेत्रबाट पर्यटकीय बसपार्क हटाएको बताएको थियो । टुरिष्ट बस एशोसियशन अफ नेपाल (टिवान)का अध्यक्ष प्रल्हाद लोहनी सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सफल बनाउन राज्यले पर्यटकीय बसपार्कले पहिलो प्राथमिकता दिनुपर्ने बताउँछन् ।

‘सरकार सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने भन्छ, तर पर्यटकीय सवारी साधन सडकबाट गुड्नुपर्ने बाध्यता छ,’–उनले बताए । विश्वका धेरै मुलुकले पर्यटन क्षेत्रको विकासका लागि पर्यटक बोक्ने सवारी साधनलाई छुट्टै बसपार्कका रुपमा विकास गरेको उनको भनाइ छ । कान्तिपथ सडकबाट बसपार्क हटाएर सोह्रखुट्टे लगेपनि सरकारले राजधानीको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको ठमेल क्षेत्र वरपर नै बसपार्क निर्माण गर्नुपर्ने अध्यक्ष लोहनी बताउँछन् ।

काठमाडौंबाट चल्ने पर्यटकीय बस बिहान ७ बजे स्वदेशी तथा विदेशी पर्यटक बोकेर पोखरा, सौराहा, लुम्बिनी र जनकपुर जाने गरेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक सुधारका लागि तीन महीने कार्ययोजना बनाएर काम गरिरहेको छ । सो कार्ययोजनामा जेब्राक्रसिङ निर्माण, बस पकेट निर्धारण, फुटपाथ व्यवस्थापन, करिडोर निर्माण, सडक विस्तारलगायत रहेका छन् ।

ट्राफिक प्रहरीले आगामी दिनमा पर्यटकीय सवारी साधन व्यवस्थित गर्न पर्यटकीय बसपार्क निर्माण गर्ने कुरामा सरोकारवाला निकायसँग छलफल गरेर काम गर्ने महाशाखाका प्रमुख वसन्तकुमार पन्त बताउँछन् ।

टुरिष्ट बस एशोसियशन अफ नेपाल (टिवान)का महासचिव कृष्ण आचार्य पर्यटक बसपार्क निर्माणका लागि टिवानले पटक/पटक सम्बन्धित निकायमा छलफल चलाइरहेको बताउँछन् । ‘सरकारले पर्यटक बसपार्क निर्माणका लागि आवश्यक चासो नदिँदा बसपार्क बन्न सकेको छैन,’–उनले भने । पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार निर्माण पहिलो प्राथमिकता भएको उनको भनाइ थियो ।

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे नेपालको पर्यटन क्षेत्रको विकासका लागि पर्यटकीय बसका लागि छुट्टै बसपार्क आवश्यक रहेको बताउँछन् । “पर्यटक बसपार्क निर्माण गर्ने कुरामा सरकार सकारात्मक छ,’ उनले बताए ।

हाल काठमाडौंबाट पोखरा र चितवनको सौराहका लागि झण्डै सय पर्यटकीय बस आवतजावत गर्दै आएका छन् भने दैनिक चार हजारको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकलाई गन्तव्यस्थलमा पुर्याउँदै आएका छन् । व्यवसायीले हाल बिहान ५ देखि ७ बजेसम्म सोह्रखुट्टे पर्यटकीय बस पार्किङ गरेर यात्रु बोक्दै आएका छन् भने रातको समयमा विभिन्न ग्यारेजमा शुल्क तिर्न बाध्य छन् ।

Advertisement

Advertisement

Advertisement