नक्कली सुन धितो राख्‍ने सिटिजन्स बैंकका प्रबन्धकसहित सात जना जेल चलान

Advertisement

नेपालगञ्ज । सिटिजन्स बैंक  नेपालगञ्ज शाखामा भएको नक्कली तथा कम तौलको सुन धितो काण्डमा बैंकका प्रबन्धकसहित सात जनासँग जनही २५ लाख धरौटी माग गरिएको छ ।

उच्च अदालत तलसीपुर–नेपालगञ्जले सात जनाउपर जनही २५ लाखका दरले धरौटी माग गरेको हो । बैंकमा सुन धितो राखेर रकम निकाल्ने चार तथा बैंकका प्रबन्धक विवेक स्वाँर, सहायक प्रबन्धक शङ्कर जोशी, खजाञ्ची ज्योति सुनार, सुन धितो राख्ने ईश्वर सुनार, रमेश सुनार, दीपक विश्वकर्मा र दीपेन्द्र विश्वकर्मालाई जनही २५ लाख धरौटी बुझाउन आदेश जारी गरिएको गरिएको बाँके जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।

उक्त शाखाका प्रबन्धक स्वाँरले बैंक ठगी काण्डमा संलग्नले अन्य रकम फिर्ता गरे पनि हाल बैंकलाई तिर्न बाँकी रकम तीन करोड २७ लाख तिर्न आनाकानी गरेपछि बैंकमा ठगी काण्ड भएको उजुरी आफैंले गरेका थिए । प्रहरीले स्वारकै उजुरीका आधारमा छानबिन थालेको हो । उक्त अदालतका न्यायाधीश विष्णुदेव पौडेलको इजलासले आरोपितहरुको बयानपछि उनीहरुलाई जनही २५/२५ लाख धरौटी बुझाउन आदेश दिए ।

लक्ष्यभन्दा बढी राजश्व असुली

नेपालगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७५÷७६ को लक्ष्यभन्दा बढी राजश्व असुल गर्न सफल भएको छ । असार महिनामा मात्र एक अर्ब छ करोड ३० लाख ७३ हजार असुल भएकाले वार्षिक लक्ष्य पूरा भएको भन्सार प्रमुख शान्तिराम निरौलाले बताए ।उनका अनुसार भन्सार विभागले यस कार्यालयलाई १२ अर्ब ३३ करोड एक लाख १६ हजार राजश्व असुलीको वार्षिक लक्ष्य दिएकामा १२ अर्ब ३३ करोड ५५ लाख ७१ हजार असुली भएको थियो । यो रकम लक्ष्यभन्दा ५४ लाख ५५ हजारले बढी हो ।

उक्त कार्यालयले सबैभन्दा बढी भन्सार महसुलमा पाँच अर्ब ९३ करोड ४८ लाख, मूल्य अभिवृद्धि करमा पाँच अर्ब ६२ करोड ५५ लाख, अन्तःशुल्कमा  २८ करोड ३५ लाख र अन्यमा ४९ करोड १६ लाख ६७ हजार असुल गरेको थियो । सो अवधिमा सबैभन्दा बढी पेट्रोलियम पद्धार्थबाट राजश्व असुली भएको बताए ।

Advertisement

Advertisement

Advertisement