कोरोना कहरमा विप्रेषण आय २३ प्रतिशतको वृद्धि, विदेशी विनिमय सञ्चिति रु. १४ खर्ब ३६ अर्ब

Advertisement

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो महिना (साउन)मा विप्रेषण (रेमिटान्स) आप्रवाहमा २३ प्रतिशतको वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो आर्थिक बर्षको साउनमा २ प्रतिशतले बढेको विप्रेषण यो बर्ष साउनमा २३ प्रतिशतले बढेर ९२ अर्ब ७१ करोड रुपियाँ भित्रिएको छ । 

यद्यपि समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेको छ भने पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ८० प्रतिशतले घटेको छ । 

Advertisement

समीक्षा अवधिमा चालु खाता रु.२५ अर्ब ४१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता नौ अर्ब ३४ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको पहिलो महिनामा आठ करोड ३८ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २१ करोड २१ लाखले बचतमा रहेको छ ।

साउनमा प्रत्यक्ष वैदेशिक लगानी ३.३ प्रतिशतले घटी रु. एक अर्ब ३९ करोड कायम भएको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो लगानी रु. एक अर्ब ४४ करोड रहेको थियो । यस बर्ष साउनमा शोधनान्तर स्थिति रु. ५१ अर्ब ४६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु. छ अर्ब पाँच करोडले मात्रै बचतमा रहेको थियो । 

२०७७ असार मसान्तमा रु. १४ खर्ब एक अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले वृद्धि भई २०७७ साउन मसान्तमा रु. १४ खर्ब ३६ अर्ब ७३ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ साउन मसान्तमा १२ अर्ब दुई करोड पुगेको छ ।

गत साउनसम्मको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.३ महिनाको वस्तु आयात र १५.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको भनाई छ । 
 

Advertisement

Advertisement