पर्व मनाउन उखु किसानलाई पैसा दिन सरकारलाई निर्देशन, ‘एकमहिना भित्रै ४१ करोड दिनू’
File-Photo

Advertisement

काठमाडौँ । उखु किसानहरुले दिपावली र छठ पर्व मनाउन पैसा पाउने भएका छन् । रौतहटका किसानहरुले श्रीराम सुगर मिल्सबाट रु. ४१ करोड भुक्तानी पाउन बाँकी छ । 

उखु किसानहरुको समस्या समाधान बारे प्रतिनिधि सभा अन्तरगत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा आज भएको छलफल पछि  रौतहटका उखु किसानहरुलाई पर्व मनाउन केही पैसा उपलब्ध गराउन निर्देशन दिएको हो । साथै १ महिना भित्रै श्रीराम सुगर मिल्सबाट पाउनु पर्ने सबै बक्यौता उपलब्ध गराउने व्यवस्था मिलाउन समिति सभापति बिमलकुमार श्रीवास्तवले निर्देशन दिए । 

Advertisement

उक्त छलफलमा उद्योग मन्त्री लेखराज भट्टको पनि उपस्थिति थियो । सो अवसरमा मन्त्री भट्टले किसानहरुको समस्या तत्कालै समाधान गर्नु पर्नेमा सरकार गम्भीर रहेको बताए । साथै चिनी उद्योगहरुको संरक्षणका लागि के गर्न सकिन्छ भन्नेमा पनि सरकार उत्तिकै गम्भीर रहेको उनको भनाई थियो । 

रौतहटका उखु किसानले श्रीराम सुगर मिल्सबाट तत्काल पाउनु पर्ने बक्यौता रकम रु. ४१ करोड दशैँ पहिले नै पाउनु पर्ने माग गर्दै आएका थिए । उखु उत्पादक संघले उद्योगमा कार्यरत श्रमिक तथा कर्मचारीले ५ महिनाको तलब÷भत्ता तथा डेढ वर्षको सञ्चककोष समेत गरी रु. ४ करोड पाउन बाँकी रहेकाले त्यसको पनि भुक्तानी दिन माग गर्दै आइको वरिष्ठ उपाध्यक्ष रामप्रमोदप्रसाद यादवले जनाएका छन् । 

उखु उत्पादक किसान र कर्मचारीहरुले करोडौँ रुपियाँ भुक्तानी पाउन बाँकी रहेकै अवस्थामा गत साउनमा उद्योग व्यवस्थापनले कम्पनी बन्द गर्ने निर्णय गरेको छ । उद्योग बन्द हुँदा ३३० स्थायी श्रमिक÷कर्मचारी र करीब साँढे २ सय करारका गरी झण्डै ६०० जना बेरोजगार बनेका छन् । संघले उद्योग बन्द हैन सञ्चालनको माग पनि गर्दै उपाध्यक्ष यादवले बताए । 

 

तलका लिंक पनि क्लिक गर्नुहोलाः 

श्रीराम सुगर मिल्सबाट ४१ करोड बक्यौता दशैँ अघिनै पाउनु पर्ने उखु किसानको माग

श्रीराम सुगर मिल्स स्थायी रुपमा बन्द गर्ने व्यवस्थापनको निर्णय, उद्योग दुई अर्ब १७ करोड घाटामा

    
    

Advertisement

Advertisement