विश्वासिलो सहकारीमा बदमासी, विधानविपरित निर्वाचन समिति घोषणा

Advertisement

बर्दिया (भुरिगाउँ) । जिल्लाकै सबैभन्दा ठूलो विश्वासिलो बचत तथा ऋण सहकारी संस्थामा अहिले आर्थिक अनियमितताका गतिविधि बाहिर आएका छन् । संस्थाको २५औं वार्षिक साधारणसभा एवं निर्वाचन नजिकिँदै गर्दा अनियमितता बाहिरिएको हो ।

जिल्लाभर मुख्य कार्यालयसहित १० बचत संकलन तथा सेवा केन्द्रमा १२ हजार सदस्य रहेको संस्थामा चलखेल हुन थालेपछि हिसाबहिताब खोजिएको छ । सञ्चालक समितिले सदस्यहरूलाई गुमराहमा राखेर आर्थिक अनियमितता गरेको र यसलाई लुकाउन संस्थाको विधानविपरित नयाँ निर्वाचन समिति घोषणा गरी आगामी माघ १७ गते निर्वाचन गर्न लागिएको एक सेवा केन्द्रका उच्च अधिकारीले जानकारी दिए ।

Advertisement

संस्थाका अध्यक्ष देशु थारु, उपाध्यक्ष शिवलाल खत्री तथा कार्यकारी अधिकृतको जिम्मेवारीमा काम गरिरहेका कृष्णप्रसाद शर्माको मुख्य मिलेमतोमा सबै गतिविधि भइरहेको पनि ती अधिकारीले बताए । संस्थाले १७ गते हुने भनिएको निर्वाचनबाट ४ वर्षका लागि नयाँ कार्यसमिति चयन गर्ने घोषणा गरेको छ ।

सञ्चालक समितिले ठाकुरबाबा नगरपालिका–८ स्थित जगदम्बा मावि मडेलाका स्थायी शिक्षक कलमबहादुर शाही (निर्वाचन अधिकृत) को संयोजकत्वमा नेपाल राष्ट्रिय आधारभूत निमावि ठाकुरद्वाराका शिक्षक बामदेव ढकाल र बबई शिशु आधारभूत निमावि बर्गदाका शिक्षक नारायण अधिकारी सम्मिलित निर्वाचन समिति घोषणा गरेको छ । जुन समिति विधानविपरित रहेको दाबी गरिएको छ ।

संस्थाको विधानमा जिल्ला प्रशासन कार्यालय (प्रमुख जिल्ला अधिकारी–सिडिओ) ले तोकेको प्रतिनिधि वा मुख्य कार्यालय रहेको पालिकाको सहकारी विभागको प्रमुखलाई निर्वाचन अधिकृत तोक्ने प्रावधान छ । यसरी तोकिएको निर्वाचन अधिकृतको मातहतमा रहेर सम्बन्धित वडा कार्यालयको वडा सचिव र नजिकको मावि स्कुलको स्थायी शिक्षक सदस्य तोकिने प्रावधान छ ।

यसैगरी, निर्वाचन समितिले सबै मतदान केन्द्रमा उपसमिति गठन गर्ने जिम्मा मुख्य समितिलाई दिने भन्ने छ । उपसमितिमा जहाँ मतदान हुन्छ त्यहाँको वडा कार्यालयको सचिव संयोजक रहने पनि प्रावधान छ । आर्थिक गतिविधिमा लापरबाही गर्दै आएको सञ्चालक समितिले विधानविपरित एउटै उद्देश्य रहेका दुई सहकारी संस्थामा संलग्न व्यक्तिलाई समेत निर्वाचनमा भाग लिने स्वीकृति दिएको छ ।

ठाकुरबाबा ८ मडेलामा मुख्य कार्यालय रहेको संस्थाको पाताभार गेरुवा–३ शान्तिबजार, ढोढरी सेवा केन्द्र मधुवन–४ माचड, न्यौलापुर सेवा केन्द्र ठाकुरबाबा–१ भुरिगाउँ, आशिर्वाद सेवा केन्द्र ठाकुरबाबा–९ ठाकुरद्वारा, संगिनी सेवा केन्द्र ठाकुरबाबा–६ बकुवा, खुटासा सेवा केन्द्र ठाकुरबाबा–३ बगनाह, बानियाँभार बचत संकलन केन्द्र बाराबर्दिया–३ रामपुर, जगनगर बचत संकलन केन्द्र बानियाँभार–८ जयनगर र मंगलपुर बचत संकलन केन्द्र राजापुर¬–१० मंगलपुरमा शाखा सञ्चालित छन् ।

वर्षौंदेखि बचत संकलन गरी सदस्यहरूमा ऋण प्रवाह गर्दै आएको यो बर्दिया जिल्लाकै सबैभन्दा ठूलो सहकारी संस्था हो । जसले अहिलेसम्म ३६ देखि ४० करोड रुपैयाँ लगानी गरिरहेको छ । संस्थामा पूर्व एमाले निकट व्यक्तिहरू हाबी रहेको हुँदा उनीहरूले मनपरी गर्दै आएका छन् । देशमा प्रधानमन्त्री केपी शर्मा ओलीको राज चलिरहेको बेला संस्थामा पनि उनैको आडमा ब्रम्हलुटका कृत्य बढिरहेका छन् ।

Advertisement

Advertisement