पाँच बर्षमै सक्ने भनिएको माथिल्लो तामाकोशी ११ बर्षमा पनि अपूरै

Advertisement

असार ०७२ मा सम्पन्न हुनुपर्ने माथिल्लो तामाकोसी परियोजना सुरु भएको ११ वर्षमा पनि सम्पन्न नहुने भएको छ । पटक–पटक म्याद र लागत थप्दै पछिल्लोपटक मंसिर ०७७ मा कम्तीमा पनि पहिलो युनिट (७६ मेगावाट) बाट विद्युत् उत्पादन लक्ष्य लिइएकोमा त्योसमेत पूरा भएन । त्यति मात्रै होइन, आगामी वैशाख ०७८ भित्र आयोजनाबाट विद्युत् उत्पादन गर्ने आयोजनले बताए पनि त्योसमेत पूरा नहुने देखिएको छ । 

जतिसुकै ठूलो विकास आयोजना पनि सामान्यतया ५ वर्षभित्र सम्पन्न हुनुपर्छ । तर, भारतीय ठेकेदार कम्पनीले समयमा पेनस्टक पाइप एवं एक्स्पान्सन ज्वाइन्ट पाइप उपलब्ध गराउन र जडान गर्न नसकेको बहानामा आयोजना ११ वर्षमा पनि अधुरै छ । पछिल्लो समय आयोजनाको लट–२ को ठेकेदार टेक्सम्याको रेलवे एन्ड इन्जिनियरिङ कम्पनीले एक्सपान्सन ज्वाइन्ट पाइप बनाउन ढिलाइ गरेको आयोजनाले जनाएको छ । उसले माघसम्ममा पाइप जडान गर्नुपर्ने समयसीमा तोकिएको थियो । त्यसलाई पर्खिंदा आयोजना थप ६ महिना ढिला हुने भएकाले डिजाइन नै परिवर्तन गरिएको अपर तामाकोसी जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले बताए । 

Advertisement

‘परामर्शदाता र प्यानल अफ एक्सपर्टको राय–सुझाबअनुसार एक्स्पान्सन ज्वाइन्ट पाइप राख्ने ठाउँमा वैकल्पिक पाइप राखेर उत्पादन थाल्ने तयारीमा छौँ,’ उनले भने । चाँडै उत्पादन थाल्ने लक्ष्यका साथ पूर्वनिर्धारित डिजाइनलाई अन्तिम अवस्थामा आएर परिवर्तन गरिएको र त्यो गुणस्तरीय रहेको उनको भनाइ छ । 

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement