साखः ग्रुपका अध्यक्ष गणेश साखःको निधन

Advertisement

काठमाडौं । व्यवसायिक समूह साखः ग्रुपका अध्यक्ष गणेशभक्त साखःको ९१ वर्षको उमेरमा निधन भएको छ । उनका नाती प्रवल साखःका अनुसार पेट डुम्म भएर भक्तपुरस्थित इभामोरा हस्पिटलमा उपचारका लागि पुर्याएपछि शुक्रबार साँझ व्यवसायी साखःको निधन भएको हो । 

प्रवलले भने, ‘पेटमा समस्या भएपछि अस्पताल लगिएको थियो, पुगेको १० मिनेट जतिमै उहाँको निधन भयो ।’ गणेश साखःले सोही अस्पतालमा नियमित चेकजाँच गराउँदै आएका थिए । उनको चार छोराहरू रहेका छन् । पाँच छोरामध्ये एकको यसअघि नै निधन भएको हो । श्रीमतीको पनि निधन भइसकको छ । 

Advertisement

भक्तपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष समेत रहेका गणेश साखःको स्टिल उद्योग, पेन्ट उद्योगलगायत विभिन्न क्षेत्रमा लगानी रहेको छ । भक्तपुरबाट आफ्नो व्यवसाय विस्तार गरेका साखःको नेपाल पेन्टस र साखः मेटल एण्ड एलाइड इन्डस्ट्रिज सञ्चालनमा रहेको छ । उनलाई २०७४ सालमा नेपाल चेम्बर अफ कमर्सले लाइफ टाइम एचिभमेन्ट अवार्ड समेत प्रदान गरेको थियो ।

ल्वाङ, सुकमेल, मरिचको पुख्र्यौली व्यापारबाट यस क्षेत्रमा लागेका गणेश साखःले पछि पोलिकेम, पेन्ट्स, स्टिल, चाउचाउ, औषधि उद्योगमा संलग्न भएका हुन् । 

Advertisement

Advertisement