‘नेपाल लाइफका अभिकर्ता भन्छन्– नेटवर्किङ छैन्, समितिले देखेको छ भने कारवाही गर्दा हुन्छ

Advertisement

काठमाडौं । नेपालको पूरानो र ठूलो बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सका एक पूराना बीमा अभिकर्ताले बीमा अभिकर्तामा ‘नेटवर्किङ’ रहेको बजार हल्लामा सत्यता नरहेको दावी गरेको छ । उनले बीमा अभिकर्तामा ‘नेटवर्किङ’ गरेर माथिल्लो तहका अभिकर्ताले कमिशन नलिएको भन्दै यति त्यस्तो हो भने बीमा समितिले छानविन गरेर कारवाही गर्दा हुन्छ भने । यद्यपि उनले आफ्नो नाम भने खुलाउन चाहेनन् । 
 
उनले भने, ‘यदि अभिकर्ता नेटवर्किङ छ भने बीमा समितिले चाहेको खण्डमा तुरून्तै रोकिन्छ । समस्या पनि देखाउने र चुप पनि बस्ने कुरा गर्नु हुँदैछ । छ भने छानविन गरेर कारवाही गर्दा हुन्छ । कम्पनीका ती अभिकर्ताले थपे, ‘मलाई लाग्छ अभिकर्तामा नेटवर्किङ गरेर माथिका अभिकर्ताले तलका अभिकर्ताको कामबाट कमिशन लिने गरेको मलाई थाहा छैन् । यदि समितिलाई थाहा छ, देखेको छ भने किन उजूरी चाहिन्छ र ? समितिलाई रोक्ने र कारवाही गर्ने अधिकार छ ।’ 

यसअघि समितिका अध्यक्ष सूर्य सिलवालले अभिकर्ता नेटवर्किङ गरी माथिल्लो वर्गका अभिकर्ताले तल्लो वर्गका अभिकर्ताको कामबाट कमिशन लिने गरेको पाइएको औंल्याएका थिए । उनले कसैले उजुरी गरेमा आफू कारवाही गर्न तयार रहेको बताएका थिए । 
 
नेपाल लाइफका ती वरिष्ठ अभिकर्ताले अभिकर्ता नेटवर्किङको विषयमा समितिले अध्ययन गरेर मात्रै धारणा ल्याउनुपर्नेमा हचुवामा भनेको तर्क गरे । उनले भने, ‘बीमा समितिलाई ‘सरेण्डर’ रोक्न कसैले उजूरी नगर्नु पर्ने, ‘फ्युचर बोनस’को ‘प्रोभिजनिङ’का लागि पनि कसैले उजूरी गर्नु नपर्ने तर अभिकर्ता नेटवर्किङ छ भने रोक्न किन उजूरी गर्नुपर्ने रहेछ ?’

Advertisement

बीमा समितिले सबै निर्णय एकै पटक गर्न खोज्दा त्यसले बीमा बजारीकरणमा समेत नकारात्मक प्रभाव परेको तर्क गर्दै तीन अभिकर्ताले आम नागरिकमा बीमा खराबै हो कि ? भन्ने खालको धारणा विकास गर्न नहुने बताए । ‘मैले भन्न खोजेको बीमा समितिले आफ्ना काम कारबाही गर्नु हुन्न भन्न खोजेको होइन । तर बीमा क्षेत्रमा भएका गलत गतिविधि रोक्छु भनेर समिति लागि परेको छ । के यसअघि गलत गतिविधि हेर्ने समितिमा कोही कर्मचारी थिएनन् र ? के अहिलेसम्म सबै गलत काम मात्रै भइरहेको थियो र ?’ 

यद्यपि उनले पछिल्लो समय समितिमा सिलवाल अध्यक्ष भएर आएपछि बीमा क्षेत्रका धेरै बेथिति रोक्न कदम चालिएको स्वीकार गरे । ती अभिकर्ताले अहिलेको अध्यक्षले गरेको कामको बजारले सही मूल्यांकन गरिरहेको बेला अभिकर्ता नेटवर्किङ जस्ता विषयमा अध्ययन गरेर मात्रै धारणा बाहिर ल्याउँदा राम्रो हुने सुझाव दिए । 

बीमा क्षेत्रमा अहोरात्र खटने, बीमा क्षेत्रमा फ्रन्ट लाइनमा खट्ने अभिकर्ताले खाएको फाइदालाई नेटवर्किङसँग जोड्न नहुने उनको तर्क छ । ती पूराना अभिकर्ताले अभिकर्ता नेटवर्किङ छ भन्ने लागेमा कडा नियम ल्याएर रोक्दा राम्रो हुने सुझाव दिँदै समितिले दावी गरेजस्तो अभिकर्ता नेटवर्किङ नरहेको जोड दिए । 

अध्यक्ष सिलवालले यसअघि कर्पोरेट नेपालसँग कुरा गर्दै भनेका थिए, ‘काम गर्ने एउटा छ । कामै नगरी खाने अभिकर्ताको गिरोह हुँदो रहेछ । हामीले नेटवर्किङ व्यवसाय गैरकानुनी भन्दै आयौं । यहाँ बीमामै यस्तो प्रवृत्ति रहेछ । नेटवर्किङ बनाएर एकथरी अभिकर्ताले दुःख गरेर काम गर्ने, अर्कोले बसीबसी कमिशन खाने कुरा गर्न मिल्दैन् ।’ नेटवर्किङ गरेर माथिका अभिकर्ताले बसीबसी खाने प्रवृत्ति आफूले बल्ल चाल पाएकोले यस्तो विकृतिलाई रोक्ने उनको भनाई थियो । सिलवालले आवश्यक परे यस विषयमा छानविन गर्ने पनि बताएका थिए । 

Advertisement

Advertisement