अन्तर्राष्ट्रिय रोमिङ कलमा ओरालो लाग्दै टेलिकम, विस्तारै सुधार हुने क्रममा छ: प्रवक्ता जोशी

Advertisement

काठमाडौं । नेपाल टेलिकमको अन्तर्राष्ट्रिय रोमिङ सेवा अप्रत्याशित रूपले घटेको छ । कोरोना महामारी (कोभिड-१९) र अन्तर्राष्ट्रिय यात्रामा लागू भएको प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय रोमिङ सेवामा गिरावट आएको टेलिकमको भनाइ छ । त्यस्तै, ओटीटी (ओभर दि टप) को बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय आवद्धता सेवामा भारी गिरावट आएको टेलिकमले स्वीकार गरेको हो ।  नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीका अनुसार गत वर्ष कोरोना महामारीको सुरूवातसँगै अन्तर्राष्ट्रिय रोमिङ कलमा ह्वात्तै गिरावट आएको थियो ।

टेलिकमका प्रवक्ता जोशीले कर्पोरेट नेपालसँग भने,‘कोरोना महामारीको सुरूवातमा हाम्रो रोमिङ कल ८० प्रतिशतले घटेको थियो । तर, अहिले त्यसमा सामान्य सुधार भएको छ । कोरोना महामारीले मात्र नभई पछिल्लो समय सामाजिक सञ्जालबाटै ग्राहकले भ्वाइस कल गर्न थाल्नु भएको छ । त्यसको असर पनि अन्तर्राष्ट्रिय रोमिङ कलमा देखिएको हो ।’  उनले  भने ‘विगतमा दूरसञ्चारको पहुँच निकै कम थियो । त्यस्तो अवस्थामा टेलिकमकै सहायताले ग्राहकले विदेशमा रहेका आफ्न्तसँग सम्पर्क गर्नु पर्ने बाध्यता थियो ।’ तर अहिले अवस्था बदलिएको छ । उनी भन्छन्,  ‘इन्टरनेटबाटै विदेशमा सहजै कल हुने गर्छ । ग्राहकले सस्तो दरमै इन्टरनेटबाट भ्वाइसकल गर्न सक्छन् । त्यसको प्रभाव आफ्नो अन्तर्राष्ट्रिय कलमा परेको छ ।’ 

Advertisement

सामाजिक सञ्जालबाटै सम्पर्क

पछिल्लो समय साजिक सञ्चालको प्रयोग बढ्दै गएको छ । सामाजिक सञ्जालका साथै ओटीटीको प्रयोग गरेर हुने म्यासेन्जर, भाइबर, ह्वाट्स एपसहितको प्रयोग बढेको छ । ग्राहकले विदेशमा रहेका आफन्त सम्पर्क राख्ने गर्छन् । प्रवक्ता जोशी महामारीपछि पुन अन्तर्राष्ट्रिय रोमिङ कलमा सुधार आएको बताए । अन्तराष्ट्रिय रोमिङ कलमा विगतको वर्षभन्दा केही सामान्य सुधार छ ।प्रवक्ता जोशीले देश विदेशमा हुने गतिविधी तथा आवतजावतमा बृद्धि भएसँगै अन्तर्राष्ट्रिय कलमा वृद्धि हुने आशा व्यक्त गरे ।

गत आर्थिक वर्षको असार मसान्तसम्म अन्तिम लेखा परिक्षणपछि टेलिकमको कुल सेवा वापतको आय ३४ अर्ब ६१ करोड ९९ लाख ६४ हजार रूपियाँ रहेको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा कुल सेवा वापत आय १ अर्ब २८ करोड ३७ लाख ६९ हजार रूपियाँले बढेको छ । सो सेवा वापतको आयमा ३.७० प्रतिशतले वृद्धि भई हाल ३५ अर्ब ९० करोड ३७ लाख ३३ हजार रूपियाँ पुगेको छ । 

     
 

Advertisement

Advertisement