काठमाडौं । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको तेस्रो अग्लो तथा ८,५८६ मिटर अग्लो कञ्चनजंगा हिमाल सफल आरोहण गरेकी छन् ।
थानीले गत शनिबार (मे ७) तारिखको बिहान ११ बजे कञ्चनजंगा हिमालको चुचुरोमा सफलतापूर्वक पाइला टेकेकी छन् । उनले कञ्चनजंगामा पाइला टेकेकी टिमको गाइड कीर्तिमानी आरोही निर्मल पुर्जाले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेका छन् । थानी कञ्चनजंगामा हिमालको आरोहण गर्ने पहिलो अरबी महिला बनेकी छन्।
उनी विश्वका सात महाद्वीपका सात सर्वोच्च शिखर आरोहण गर्ने र दुई ध्रुवमा पाइला राख्ने लक्ष्यसहित कञ्चनजंगा हिमाल चढेकी हुन् । अन्टार्टिकाको साउथपोलमा अवस्थित सबैभन्दा अग्लो विन्सन हिमाल (४,८९२ मिटर)को सफल आरोहण गरी उनी सगरमाथा आरोहणका लागि नेपाल आएकी हुन् ।
थानीले यसअघि नेपालको अमा दब्लम, धौलागिरी र बिना अक्सिजन मनास्लु हिमालको सफल आरोहण गरिसकेकी छन्। उनी विन्सन हिमाल आरोहण गर्ने पहिलो अरबी महिला हुन् ।
थानी ‘‘एक्स्प्लोरर्स ग्रान्ड स्लाम’ पूरा गर्ने पहिलो कतारी महिला बन्ने यात्रामा छिन् । त्यसका लागि संसारका सात उच्च शिखरको आरोहण गर्ने र उत्तर तथा दक्षिण ध्रुवका अग्ला हिमाल आरोहण गर्ने लक्ष्य राख्नुभएको छ ।’ यस पटक सगरमाथा आरोहणमा पनि पुर्जाले थानीलाई साथ दिँदैछन् ।
यसअघि उनले दक्षिण अमेरिकाको छ हजार ९६९ मिटरको माउन्ट एकोनकागुआ र अफ्रिकाको पाँच हजार ८९५ मिटर अग्लो माउन्ट किलिमन्जारो र यूरोपको ५ हजार ६४२ मिटर अग्लो माउन्ट एल्ब्रस चढिसकेकी छिन् ।