पर्यटन बोर्डद्धारा नाइजेरियाको सेनाको भ्रमणदलसँग पर्यटनबारे छलफल

Advertisement

काठमाण्डौं। नेपाल पर्यटन बोर्डले नेपाली सेनाको निमन्त्रणमा नेपाल भ्रमणमा रहेको नाइजेरियाको सेनाको टोलीसँग नेपालको पर्यटनका बारेमा अन्तरक्रिया गरेको छ । 

कार्यक्रममा नाइजेरियाको नेशनल डिफेन्स कोर्ष–एनडीसी–३० मा सहभागी शिक्षार्थी तथा फ्याकल्टी मेम्बरहरु सम्मिलित २२ सदस्यीय भ्रमणदलका सदस्य तथा नेपाली सेनाका अधिकारीहरुको सहभागिता रहेको थियो । 

Advertisement

टुरिजम डेभलपमेन्ट इन नेपाल लेशन फर नाइजेरिया भन्ने विषयमा आधारित रही उक्त टोली जेठ २२ गते देखि नेपाल भ्रमणमा रहेको छ । भ्रमणदललाई नेपालका पर्यटनसँग सम्बन्धित विषयहरुमा प्रस्तुतिकरण तथा अन्तरक्रियात्मक कार्यक्रमहरु सञ्चालन गरिएको थियो । 

एनडीसीको टोलीलाई स्वागत गर्दै नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपाल भौगोलिक विधितायुक्त सुन्दर देश भएको उल्लेख गर्दै नेचर कल्चर र एडभेन्चर यी तीनै खालका पर्यटकीय गतिविधिका लागि विश्वभरबाट पर्यटक आउने गरेको बताए । 

उनले नेपाल आउन चाहने नाइजेरियन पर्यटकका लागि थप सूचना सम्प्रेषण हुने बताए । नाइजेरियाको सेनाको हेड अफ डेलिगेशन ब्रिगेडियर अलेचेनु माइक अलेचेनुले नेपाली सेना र नाइजेरियन सेनाका बीचमा आफ्नै खालको सम्बन्ध रहेको उल्लेख गर्दै यो अन्तरक्रियाबाट नेपालको पर्यटनबारे धेरै जान्ने मौका मिलेको र यसले भोलीका दिनमा जनस्तरको सम्बन्धलाई समेत प्रगाढ बनाउने बताए । 

यस्तै नाइजेरियाका सेनाका ब्रिगेडियर जनरल आरटी उट्साले बोर्डले आयोजना गरेको कार्यक्रमबाट नाइजेरियन सेनाले नेपालको पर्यटनका बारेमा धेरै जान्ने मौका मिलेको बताए । 
 
कार्यक्रममा बोर्डका निर्देशक मणिराज लामिछानेले नेपालको पर्यटनमा समग्र पक्ष र नेपालका पर्यटकीय गन्तव्यका बारेमा प्रस्तुतिकरण दिएका थिए । बोर्डका वरिष्ठ प्रबन्धक सुनिल शर्माले नेपालको आतिथ्यता यहाँको प्राकृतिक सौन्दर्य पर्यटकका लागि आर्कषणको केन्द्र रहेको बताए । 

कार्यक्रममा नाइजेरियन सेनाका सहभागीहरुले यस किसिमको भ्रमणले दुई देश बीचको पर्यटकीय सम्बन्धलाई अझ सुमधुर एवं मजबुत पार्न थप मद्दत पुग्न गई दुई देशबीच आपसी हित र पारस्परिक सम्बन्ध समेत सुमधुर तथा प्रगाढ हुने विश्वास लिएको बताउँदै नेपालको समग्र पर्यटन,पर्यटकको सुरक्षा तथा कनेक्टिभिटीका बारेमा जिज्ञासा राखेका थिए । 

भ्रमणदलले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेज, पोखरास्थित मध्य कमाण्ड हेडक्वार्टर तथा पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रलगायत नेपालस्थित विभिन्न पर्यटकीय स्थल एवं सो सँग सम्बन्धित निकायहरुको भ्रमण गरी जेठ २८ मा स्वदेश फिर्ता हुने कार्यक्रम छ ।

Advertisement

Advertisement