काठमाडौं । होटल व्यवसायीले काठमाडौं महानगरपालिकासँग कर छुटको माग गरेका छन् । महानगरपालिकाले आउँदो आर्थिक बर्षका लागि बजेट जारी गर्ने तयारी गरिरहेको बेला होटल संघ नेपाल (हान)का पदाधिकारीले बुधबार महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहलाई भेटेर ज्ञापनपत्र बुझायो ।
पत्रमा कोभिड–१९ का कारण अतिप्रभावित भई थिलथिलो अवस्थामा रहेको पर्यटन तथा होटल उद्योग पूरानै लयमा फर्कन अझै केही समय लाग्ने उल्लेख गर्दै कर छुटसहितका सुविधाहरु माग गरिएको छ ।
व्यवसायीहरुले आर्थिक गतिविधि चलायमान बनाउने, बढी भन्दा बढी रोजगारी उपलब्ध गराउने तथा विदेशी मुद्रा आर्जन गरी मुलुकलाई टेवा पुर्याउने होटल उद्योगलाई बचाईराख्न राज्यको पनि दायित्व रहेको बताउँदै विगतका वर्षहरुमा झैं यस वर्ष पनि होटलहरुमा लगाइँदै आएको एकीकृत सम्पत्ति करमा ९० प्रतिशत छुट दिन, र व्यवसाय करमा समेत शतप्रतिशत छुट दिन आग्रह गरेको छ ।
घर जग्गा कर ऐन २०१९ को दफा १२ बमोजिम होटलको ग्राहक बस्ने, खाने खास घर जग्गा, सवारी साधनको पार्किड स्थान र बागबगैंचामा घरजग्गा कर नलाग्ने व्यवस्था रहेकोमा एकीकृत सम्पत्ति कर २०७४ मा होटलहरुले ओगटेको सबै संरचनामा सम्पत्ति कर लगाएको भन्दै हानले करिब १५ सय प्रतिशत भन्दा बढी करको भार थाम्न नसक्ने गरी बढाइएको गुनासो गरेको छ ।
पटक–पटक काठमाडौं महानगरपालिकालाई अनुरोध गरी आर्थिक वर्ष २०७५–७६ मा ६५ प्रतिशत, २०७६–७७ मा ७५ प्रतिशत, २०७७–७८ मा ७५ प्रतिशत र २०७८–८९ का लागि ८० प्रतिशत छुट उपलब्ध गराएको र उक्त छुटमध्ये समय सीमाभित्र कर बुझाएमा अर्को १० प्रतिशत अतिरिक्त छुट उपलब्ध गराएको स्मरण समेत व्यवसायीले गराएका छन् ।
सोही सिलसिलामा २०७५–७६ मा उपलब्ध ६५ प्रतिशत छुट रकम काठमाडौं महानगरपालिका र हानको सहकार्यमा आयोजना हुने गरी पर्यटन प्रवर्द्धनका लागि संयुक्त कोष स्थापना भएको जानकारी गराउँदै उक्त कोषबाट काठमाडौं महानगरपालिकालाई पर्यटनको केन्द्र बनाउन तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा मुलुकको साख उच्च राख्न विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम तय गरिएको समेत ज्ञापन पत्रमा उल्लेख छ।
यस कोषबाट संघले काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनका लागि पनि कार्यक्रम अगाडि बढाइरहेको जानकारी गराउँदै हानले यस कार्यमा आफूहरुले काठमाडौंं महानगरपालिकासँग सहकार्य गरी अगाडि बढ्ने बताएको छ । साथै फोहोरमैला व्यवस्थापनको मूख्य समस्या प्लास्टिकजन्य वस्तुहरु भएको र यसलाई न्यूनीकरण गर्ने उद्देश्यले होटल संघ नेपालले होटलहरुको कोठामा प्लास्टिकजन्य वस्तुहरु प्रयोग नगर्न र यसको विकल्पसहितको कार्यक्रम गरेको हानले स्मरण समेत गराएको छ ।