काठमाडौं । फ्युचर बोनस प्रोभिजनिङले बीमा कम्पनीहरुलाई सकस सिर्जना पर्न थालेको छ । छोटो समयमा नै उक्त प्रोभिजनिङ लागू गर्नुपर्ने भएकाले कम्पनीहरुलाई टाउको दुखाईको विषय बन्न थालेको हो ।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले प्रोभिजनिङले समस्या सिर्जना भएको स्वीकार गरे । उनले भने, ‘फ्युचर बोनस प्रोभिजनिङमा समस्या देखिएको कुरा सत्य हो । यसले पूराना बीमा कम्पनीहरुलाई समस्यामा पारेको छ तर नयाँको हकमा भने त्यस्तो समस्या छैन् ।’
समितिले प्रोभिजनिङका लागि पाँच वर्षको समय दिएकोमा कम्पनीहरुले दश वर्ष समय माग गर्न थालेका छन् । पौडेलले प्रोभिजनिङको मोडालिटिमा केही सुधार गर्नु पर्ने ठाउँ पाएमा सच्याउन आफूहरु तयार रहेको बताउँदै पौडेलले कुन मोडेलमा अघि बढ्दा उपयुक्त हुन्छ ? आफूहरुले छलफल गरिरहेको बताए ।
गत वर्ष मात्रै बीमा समितिले प्रोभिजनिङ आवश्यक रहेको भन्दै यसलाई लागू गर्न ताकेता गरेको थियो । कम्पनीहरुले पनि परीक्षणको रुपमा नै भए पनि प्रोभिजनिङ स्वीकार गरेका थिए । तर, अहिले अवस्था फरक बन्न पुगेको छ । नाम चलेका बीमा कम्पनीहरुले नै अहिले प्रोभिजनिङमा समितिले निकै कडाई गरेको भन्दै असन्तुष्टिसमेत पोख्दै आएका छन् ।
फ्युचर बोनस प्रोभिजनिङले बोनसदर घट्ने भएपछि कम्पनीलाई मात्रै होइन्, ती कम्पनीका लागि काम गर्ने अभिकर्ताहरुलाई समेत चिन्ताको विषय बनेको छ । अर्कोतिर कम्पनीहरुलाई सक्दो चाडो प्रोभिजनिङ गर्नुपर्ने दबाब छ ।
बीमा समितिले बोनसको विषयमा बीमा कम्पनीहरुलाई फरक रुपमा हेर्न नमिल्ने भएकाले सबैलाई समान व्यवहार गर्ने जनाएको छ । तर, सहजरुपमै व्यवसाय गर्दै आएका विशेषगरी पूराना र ठूला बीमा कम्पनीहरुले प्रोभिजनिङको निर्णय आफूहरुमैत्री नभएको बताएका छन् ।
व्यवसायमा अहिले अब्बल नतिजा हाँसिल गरिरहेका कम्पनीहरुको लागि बोनस घट्नु दुखदायी हुने जीवन बीमा कम्पनीको प्रतिक्रिया छ । समितिले दिएको समयसीमाभित्र प्रोभिजनिङ गर्न सम्भव नहुने भएपछि समय बढाएको थियो । समय थप गरे पनि पहिलो बर्षमै समस्या देखिन थालेको भन्दै कम्पनीका सीईओहरुले चिन्ता व्यक्त गरेका हुन् ।
फ्युचर बोनस प्रोभिजनिङले परेको समस्यालाई दृष्टिगत गरी समितिले समय थप गरेर सात वर्ष कायम गर्ने पक्षमा बीमा समिति पुगेको छ । तर, यता बीमा कम्पनीहरु भने एक वा दुई वर्ष समय थप्ने कुराले मात्रै समस्या समाधान नहुने भन्दै फ्युचर बोनस प्रोभिजनिक लागू गर्न नै समस्या रहेको बताउँछन् ।
एक कम्पनीका सीईओले भने, ‘समितिले फ्युचर बोनस प्रोभिजनिङ लागू गर्नू भनेको समस्या सिर्जना गर्नु हो । एक वर्ष पनि नबित्दै अहिले बीमा कम्पनीहरुमा समस्या देखा पर्न थालेको छ । त्यसैले हामीलाई त पाँच वर्ष वा सात वर्ष भन्दा पनि फ्युचर बोनस प्रोभिजनिङ नै लागू गर्न गाह्रो देखेका छौं ।’
उनले यो प्रोभिजनिङ व्यवसाय आर्जन गर्न पछि परेका कम्पनीहरुको हकमा लागू गर्नुपर्ने भए पनि अहिले राम्रो व्यवसाय गरिरहेका कम्पनीहरुका लागि घाटाको विषय हुने बताए । समितिले भने एक्चुरीले दिएको सल्लाह अनुसार नै फ्युचर बोनस लागू गरिएकाले यसमा एक्चुरीको निर्णय नै अन्तिम हुने बताएको छ ।