क्यानले त्रिभुवन विमानस्थलमा एमआई–१७ हेलिकोप्टर राख्न पार्किङ तयार गर्ने, श्रीएयरलाई लाभ हुने

Advertisement

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले ठूला हेलिकोप्टर कम्पनी उडान संचालनमा आउने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एमआई–१७ हेलिकोप्टर राख्न अस्थायी पार्किङ बनाउने तयारी गरेको छ । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सो पार्किङ चाँडै तयार हुनेछ । 

क्यानले टीआईएको दक्षिणपट्टि रहेको फुटबल मैदानमा ठूला किसिमका हेलिकोप्टरका लागि अस्थायी पार्किङ निर्माण तयार गर्न लागेको उनले जानकारी दिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला हेलिकोप्टर र साना हेलिकोप्टर गरी छुट्टाएर पार्किङ तयार गर्ने भएको छ । 

Advertisement

एमआइ–१७ सिरिजको जहाजको ध्वनि प्रदुषणका कारण यसका लागि छुट्टै अस्थायी पार्किङ तयार गर्न लागिएको हो । सिटौलाले भने, ‘फायर स्टेशनको दक्षिणपट्टी रहेको फुटबल ग्राउण्डमा हामीले एमआई सिरिजको हेलिकोप्टरका लागि छुट्टै अस्थायी पार्किङ निर्माण गर्न लागेका हौं । यो सिरिजको हेलिकोप्टर श्रीएयरले संचालन गर्दै आएको छ ।’ 

श्रीएयरसँग भएको कुल पाँच वटा एमआईमध्ये एउटा विदेशमा प्रयोग भइरहेको छ भने एउटा नेपालमै संचालन हुँदै आएको छ । बाँकी तीन वटा हेलिकोप्टर मर्मत संभार नभएर ग्राउण्डेड छ । यसको अनुमानित लागत भने आउन बाँकी नै रहेको उनले बताए । आगामी आर्थिक वर्षभित्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदै आएका सबै कम्पनीका हेलिकोप्टर पार्किङ स्थानान्तरण गरिने सिटौलाले बताए । 

रोटरी विङ्सतर्फ मुलुकमा हाल सिम्रिक, कैलाश, मुस्ताङ, एयर डाइनेष्टी, अल्टिच्युड, हेलि एभरेष्ट, प्रभु, श्री, मनाङ, माउन्टेन लगायत वायुसेवा कम्पनीले उडान सेवा दिँदै आएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट हालै हेलि नेपाल नाम गरेको नयाँ दर्ता भएको कम्पनीले पनि एमआई सिरिजको हेलिकोप्टर ल्याएर उडान गर्नका लागि इजाजत पाइसकेको छ ।

Advertisement

Advertisement