काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एक बर्ष झुलाएर बल्ल स्काइडाइभिङका लागि अनुमति दिएको छ ।
गत वर्षको शरद ऋतुमा स्काइडाइभिङ भएपछि मापदण्ड नभएको भन्दै प्राधिकरणले यस्तो साहसिक खेलका लागि अनुमति दिन बन्द गरेको थियो । गएको वसन्त ऋतुमा मापदण्ड जारी नभएको भन्दै उसले दर्जनौं पर्यटकहरुलाई स्काइडाइभिङ गर्न रोकेको थियो ।
पर्यटन व्यवसायीदेखि पर्वतारोहीहरुसम्मले धेरै अनुनयविनय गरेपछि बल्ल प्राधिकरणले अनुमति दिएको हो । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले मापदण्ड (एसोपी) नबनाएसम्मका लागि स्काइडाइभिङ नगराउ भनेर आफूहरुले रोकेको स्वीकार गर्दै अहिले भने आउँदो शरद ऋतुका लागि अनुमति दिने निर्णय भएको बताए ।
अहिले प्राधिकरणले फिस्टेल एयर र कैलाश हेलिकप्टरलाई स्काइडाइभिङका लागि अनुमति दिएको छ । अरु हेलिकप्टरले पनि यस्तो स्काइडाइभिङका लागि उडान गर्न अनुमति मागे पनि दिइएको छैन । भुलले भने, ‘हामीले वायुसेवा कम्पनीलाई अनुमति दिने हो । स्काइडाइभिङ कम्पनीले सिधै प्राधिकरणमा भन्दा पनि वायुसेवा कम्पनीसँग अनुमति माग्ने हो । वायुसेवा कम्पनीले हामीसँग माग्ने हो ।’
उनले थपे, ‘स्काइडाइभिङ भनेको आकाशबाट डाइभ हान्ने हो । त्यो हवाई जहाजबाट होस् या हेलिकप्टरबाट । स्काइडाइभिङको अनुमतिको कुरा भनेको त्यो डाइभ हान्दाखेरी वायुसेवा कम्पनीमार्फत प्राधिकरणमा अनुमतिका लागि आउनुपर्छ । स्काइडाइभिङ गर्दा वायुयानको प्रयोग हुन्छ । वायुयानको हरेकको प्रक्रिया हुन्छ । एउटा जहाजले स्काइडाइभिङ गर्नको लागि अथवा त्यो वायुयान, त्यो हेलिकप्टर सक्षत छ कि छैन् ? त्यो जहाजको निर्माण अथवा त्यसको म्यानुअलमा निर्माण गरेको कम्पनीले अथवा त्यसको एयरलाइन्स कम्पनीले स्काइडाइभिङ गर्न मिल्ने भन्ने कुरा कतै न कतै व्यवस्था हुनुपर्यो ।’
वायुसेवा कम्पनीले यात्रु, कार्गो उडान गर्छौं भने जस्तै स्काइडाइभिङ पनि गर्छौं भनेर म्यानुअलमा राख्नुपर्ने बताउँदै भुलले सोहीअनुसार एसोपी पनि बनाउनुपर्ने बताए । ‘कसरी गर्ने ? भन्ने कुरा एसोपी नभएकोले पनि गत वर्ष केही समय स्काइडाइभिङ उडान गर्न दिन ढिलो हुन् गएको हो’ उनको तर्क छ । यस्तो निर्देशिका बनाउन वायुसेवा कम्पनीहरुले पनि ढिलाई गरेको भुलले आरोप लगाए ।
उनले भने, ‘अहिले हामीले स्काइडाइभिङलाई वायुसेवा कम्पनीको फ्लाइट अपरेशन म्यानुअल, एसोपीमा व्यवस्था गर्न लगाएर जुन कम्पनीले जुन हेलिकप्टर कम्पनीको हेलिकप्टर प्रयोग गर्ने हो, त्यो कम्पनीले त्यसको म्यानुअलमा स्काइडाइभिङ गर्न सकिने भन्ने कुरा राखेर प्राधिकरणबाट स्वीकृत गराइसकेपछि त्यो कम्पनीलाई हामीले अनुमति दिने भएका छौं । यो सब के–को लागि भन्दाखेरी कम्तीमा त्यो वायुयानको, चालकको र यात्रु लगायत सबैको सुरक्षाको लागि हो ।’
स्काइडाइभिङ गर्दा कुन कम्पनीले गरायो भन्दा पनि कुन वायुसेवाले गरायो ? भन्ने कुराले अर्थ राख्ने प्राधिकरणको भनाई छ । नेपाल स्काइडाइभिङको लागि प्रसिद्ध पनि छ । यसले नेपालको पर्यटन क्षेत्रमा ठेवा पुग्ने पर्यटन व्यवसायीहरु बताउँछन् । यसअघि नेपालमा स्काइडाइभिङका लागि गिनिज वर्ल्ड रेकर्ड समेत बनाएका प्रसिद्ध स्काइडाइभ प्रोफेशनलहरु आएको तर सरकारले अनुमति नदिएका कारण उनीहरु रित्तो हात फर्किनुपरेको गुनासो कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाले गुनासो गर्दै आएका छन् ।
स्काइडाइभिङ सुरु भएसँगै नेपाल यसका लागि समेत विश्वबजारमा परिचित हुने आशा लिइएको छ । विश्वमा जुनसुकै कुनामा स्काइडाइभिङ गरे पनि नेपाल मात्र यस्तो देश हो, जहाँबाट ३६० डिग्री माउन्टेन भ्यू देख्न सकिन्छ । सोलुखुम्बुस्थित स्याङ्बोचेमा स्काइडाइभ गर्दा ल्होत्से, चोयु, सगरमाथा, मकालु, कञ्चनजङ्घा, अमा दब्लम लगायत विभिन्न हिमालहरु देख्न सकिने आरोहीहरुको भनाई छ ।