काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी)सँगको सहकार्यमा नेपाल पर्यटन बोर्डले शुरु गरेको जिविकोपार्जन पुनः उत्थानका लागि दिगो पर्यटन परियोजना सस्टेनेवल टुरिजम फर लाइभ्लिहुड् रिकभरी प्रजेक्ट अन्तर्गत बुधबारबाट नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (नाथम) सात दिने रिभर गाइडको लाइसेन्सिङ तालिम सुरु भएको छ ।
पर्यटन बोर्ड, एसटीएलआरपी परियोजनासँगको साझेदारीमा नेपाल एसोसियसन अफ र्याफ्टिङ एजेन्सिज (नारा)को आयोजनामा तथा नाथमसँगको सहकार्यमा ४० जना रिभर गाईड तालिम प्रदान गर्न लागिएको हो ।
तालिममा १२ महिला र २८ पुरुष गरी ४० जनाको सहभागिता रहेका छन् । परियोजनाले गत वर्ष अल्पकालीन रोजगारीलाई जोड दिएकोमा अहिले केही नयाँ जनशक्ति थप गर्ने तथा भएको जनशक्तिलाई थप दक्ष बनाउने गरी तालिम सञ्चालन गर्न लागेको बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय परियोजना संयोजक मणिराज लामिछानेले जानकारी दिए ।
तालिमको उद्घाटनका क्रममा नाथममा विभागीय प्रमुख अजय ढकालले दक्ष रिभर गाइडहरुको माग रहकोले यस तालिमबाट त्यो आवश्यक्ता पूर्ती हुने बताए । उनले नाथमबाट उत्पादित जनशक्तिको बजारमा राम्रो छाप रहेकोले यस तालिमबाट उत्पादित जनशक्तिले समेत त्यो छवीलाई कायम राख्ले विश्वास व्यक्त गरे ।
एसटीएरआरपीमा राष्ट्रिय कार्यक्रम व्यवस्थापक ज्ञानेश्वर महतोले पर्यटन क्षेत्रमा देखिएको जनशक्ति अभावलाई पूर्ति गर्न परियोजनाले विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी दिँदै रिभर गाइडहरुको तालिम पनि त्यसैको निरन्तरता भएको बताए ।
नाराका अध्यक्ष शिव अधिकारीले पर्यटन बोर्ड तथा एसटीएलआरपी परियोजनासँगको सहकार्यमा नाराले यसअघि महिला रिभर गाइडको निःशुल्क तालिम सन्चालनमा ल्याएको जानकारी दिँदै यो तालिमबाट थप दक्ष जनशक्ति उत्पादन हुने बताए ।
उत्पादित जनशक्तिलाई स्वदेश तथा विदेशमा रोजगारीको प्रशस्त सम्भावना रहेको उनले बताए । नाराका निर्वतमान उपाध्यक्ष मेघ आलेले यसलाई तालिमको रुपमा मात्र नलिई यस क्षेत्रमा नै करियर बनाउने गरी काम गर्न र सोही अनुरुप आफूलाई तयार राख्न प्रशिक्षार्थी आग्रह गरे ।
नाराका महासचिव नारायण श्रेष्ठले जलयात्रामा महिलाहरुको सहभागिता बढाउन तथा भएका अन्य गाइडहरुको क्षमता अभिवृद्धिका लागि तालिम फलदायी हुने बताए । एसटीएलआरपी परियोजनाले नारासँगै नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल एजेन्ट्स (नाटा) ,ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान), होटल एशोसिएशन नेपाल (हान) तथा विभिन्न गाउँपालिकाहरुको सहकार्यमा अल्पकालीन परियोजना सञ्चालन गरि गत वर्ष करिब ६ हजारलाई अल्पकालीन रोजगारी दिएको जनाइएको छ ।
असार २४ देखि असार २९ गतेसम्म सन्चालन हुने तालिममा सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाहरु गराइने प्रशिक्षक रेवतीप्रसाद उपाध्यायले जानकारी दिए ।