पूराना अभिलेखहरु सबै डिजिटलाइज गर्दै उद्योग विभाग, दुई महिनाभित्र पूर्ण अनलाइन सेवा

Advertisement

काठमाडौं । सरकारी तथ्यांकअनुसार गएको आर्थिक बर्ष आयात २४.७२ प्रतिशतले बढेर १९ खर्ब २० अर्ब ४४ करोड रुपियाँभन्दा भएको छ । आयात प्रतिस्थापन, निर्यात प्रोत्साहज र उत्पादन वृद्धिमार्फत मुलुकलाई आत्मनिर्भर बनाउने कुरा बर्षौंदेखि हुँदै आए पनि नजिता भने प्रतिकुल आउने गरेको छ । 

तर उद्योग विभागले भने पछिल्लो सरकारी नीतिले आयातमा कमी आउने विश्वास लिएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीले पछिल्लो सरकारी नीति नियम र छुट सुविधाका कारण औद्योगिक उत्पादनमा समेत वृद्धि भई निर्यातसमेत बढ्ने संकेत देखिएको बताउँदै सिमेन्ट र छडको निर्यात त्यसको एउटा उदाहरण भएको बताए । 

Advertisement

आयातलाई कम गर्ने तथा निर्यातलाई बढावा दिने उद्देश्यले गएको आर्थिक वर्षमा ९१ वटा ठूला उद्योग, १०८ वटा मझौला उद्योग र ११० वटा साना उद्योग तीन खर्ब ४३ अर्ब लगानी प्रतिवद्धतासहित दर्ता भएका थिए । तर लगानी नै भएर सञ्चालन भएका उद्योग भने थोरै छन् । तर पछिल्लो समय बढिराखेको आयातलाई कसरी कम गर्ने ? भनेर सरकारले बजेटमार्फत अभियान कै रुपमा उत्पादन  वृद्धि, रोजगारी वृद्धि, निर्यात वृद्धिको नीति र कार्यक्रम ल्याएको, औद्योगिक नीति, औद्योगिक व्यवसाय ऐनले पनि औद्योगिक लगानीलाई प्रोत्साहन गरेको, विभिन्न छुटका सुविधा घोषणा गरिएको, औद्योगिक पूर्वाधारका लागि सरकारले लगानी बढाएकोले अबका वर्षमा औद्योगिक उत्पादन वृद्धि भई आयात कम हुने महानिर्देशक तिवारीले बताए । 

उनका अनुसार कृषि उत्पादनसँगै औद्योगिक उत्पादनमा सरकारले यस पटक निकै प्रोत्साहन दिएकाले त्यस क्षेत्रमा लगानीसँगै रोजगारी पनि बढ्ने देखिन्छ । बिगतमा औद्योगिक क्षेत्रमा विदेशी लगानी सोचेनुसार भित्राउन नसकेका कारण देशको परनिर्भरता बढ्दै गए पनि अबका दिनमा भने औद्योगिक क्षेत्रमा स्वदेशी र विदेशी लगानी पनि वृद्धि भई उत्पादन बढ्ने आधार बनेको बताए । औद्योगिक क्षेत्रमा लगानी बढाएर उत्पादन वृद्धि नभएसम्म देश विकास नहुने र युवाहरुको पलायन नरोकिने तिवारीको भनाई छ । 

उनले भने, ‘स्वदेशी लगानीसमेत सार्वजनिक रुपमा लगानी नभएसम्म विदेशी लगानी पनि नआउँदो रहेछ । विदेशी लगानी भित्राउनलाई अनुकूल वातावरण बनाउने भनेर धेरै नीतिगत सुधारहरु गरिएका छन् । पछिल्लो समय हामीले औद्योगिक व्यवसाय ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, वातारण ऐन, श्रम कानुनलगायतमा परिमार्जन गरेर विदेशी लगानीलाई आकर्षण गर्ने हिसाबले सरकारले नीतिगत प्रबन्धहरु गरेको छ ।’

त्यस्तै, तिवारीले अघिल्ला वर्षहरुमा भन्दा पछिल्लो वर्ष विदेशी लगानी बढेको जानकारी गराएका छन् । उनले गत आर्थिक वर्षमा करिब ५५ अर्ब विदेशी लगानी स्वीकृत भएको बताउँदै यो पछिल्ला वर्षहरुको भन्दा केही बढी भएको बताए । तिवारीले अघिल्लो वर्ष (२०७७–७८) करिब ३२ अर्बको हाराहारीमा विदेशी लगानी स्वीकृत भएको बताए । 

विशेषगरी ऊर्जा, सेवा क्षेत्र, पर्यटन क्षेत्र, सुचना प्रविधिमा विदेशी लगानीको प्रतिवद्धता धेरै आएको बताउँदै महानिर्देशक तिवारीले यसवर्ष सरकारले ठूलो विदेशी लगानीहरुलाई आकर्षित गर्ने र त्यसबाट उत्पादन बढाउने, उत्पादनमूलक उद्योगहरुमा विदेशी लगानी बढाउने कुरालाई विशेष जोड दिएको बताए । 

उनले उद्योगीहरुको सेवा सुविधाको लागि यस वर्ष एक्कल बिन्दु सेवा केन्द्रलाई विशेष प्राथमिकताका साथ अगाडि बढाउने बताए । २०७६ सालमा सुरु भएको सो केन्द्र हालसम्म पनि प्रभावकारी हुन सकेको छैन् । 

एक्कल बिन्दु सेवा प्रभावकारी भएको खण्डमा उद्योग दर्ता गर्नेको लागि प्रशासनिक सेवा सुविधाहरु सरलीकरण हुने, एकै ठाउँबाट उद्योगीहरुले आवश्यक पर्ने सेवा सुविधाहरु लिन पाउने छन् । एक्कल बिन्दु सेवामार्फत धेरै निकायमा छरिएर रहेका कामहरु एकै ठाउँबाट सम्पादन हुने अर्थात् कुनै लगानीकर्ता उद्योग खोल्न धेरै निकाय धाउनु पर्दैन । 

एउटा कामको लागि धेरै निकायतिर धाउदाखेरी लगानीकर्ताहरु हतोत्साही भए भनेर सम्बन्धित सबै एजेन्सीहरुलाई एकल बिन्दु सेवा केन्द्र मातहत उद्योग विभागअन्तर्गत नै राखेर काम गर्ने उनले जानकारी गराए । तिवारीले उद्योग विभागले अबको दुई महिनाभित्र सर्वसाधारणले पूर्ण रुपमा अनलाइनबाट सेवा सुविधा पाउने गरी काम गरिराखेको बताए । 

पछिल्लो समय विभागले पूराना अभिलेखहरु सबै डिजिटलाइज गरिराखेको बताउँदै हाल करिब आठ हजार फाइलहरुलाई स्क्यानिङ गरेर डेटाहरु स्टोर गर्ने काम सकेको उनले बताए । तिवारीले भने, ‘अहिले अनलाइनवेसमा पनि केही कामहरु गरेका छौं । स्वदेशीसँगै विदेशी लगानी स्वीकृत गर्ने प्रक्रियालाई सरल, पारदर्शी र छिटो गर्नको लागि अनलाइन सिस्टमलाई अगाडि बढाइराखेका छौं ।’

Advertisement

Advertisement