काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले गठबन्धनलाई बलियो बनाएर मात्रै संविधानको रक्षा हुने दावी गरेका छन् ।
शुक्रवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का सत्ता गठबन्धनका उम्मेदवार एवं नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहको घरदैलो कार्यक्रममा सहभागी भएका उनले सिंह देश विकासको लागि सही र सक्षम नेता भएको जिकिर पनि गरे ।
गठबन्धनमा साझा उम्मेदवारहरुले आसन्न निर्वाचन जितेको खण्डमा मात्रै संविधानको रक्षा र प्रतिगमनकारीलाई रोक्न सकिने भएकाले प्रकाशमान सिंहलगायतलाई मतदान गर्न आग्रह गरे ।
भट्टराईले आफूले संघर्ष गरेर ल्याएको संघीय गणतन्त्र र संविधानमाथि नै प्रहार भएकाले गठबन्धन निर्माण गर्नुपरेको पनि बताए । गठबन्धनलाई बलियो बनाएर मात्रै संविधानको रक्षा, सुशासन र राजनीतिक स्थिरता हुनसक्ने उनको तर्क छ ।
भट्टराईले भने, ‘अहिलेको निर्वाचन विशिष्ट छ । सामान्य अवस्थामा बहुदलीय लोकतन्त्रमा दलहरुको प्रतिष्पर्धा हुन्छ । तर अहिले हामीले निर्माण गरेको, संघर्ष गरेर ल्याएको जुन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान छ, त्यसमाथि नै प्रहार भएको हुनाले प्रतिगमनकारी शक्तिहरुका बिरुद्ध अग्रगमनकारी हामी शक्तिहरुको गठबन्धन हो ।’
भट्टराईले घरदैलो कार्यक्रममा वाम लोकतान्त्रिक गठबन्धनबाट मात्रै विकासले गति लिन्छ भन्ने आम मानिसको विश्वास रहेको पाइएको बताए ।