आउँदो निर्वाचनमा फर्जी मतदान हुनसक्ने खतरा छ, चनाखो रहनुहोलाः दिनेश थपलिया

Advertisement

काठमाडौं । निर्वाचन आयोगले आसन्न संसदीय निर्वाचन बिथोल्ने व्यक्तिहरुलाई कारबाही गर्न खुट्टा नकमाउन निर्देशन दिएका छन् । आयोगले कानूनको व्यवस्थालाई पूर्णरुपमा अध्ययन गरी शतप्रतिशत कार्यान्वयन गराउन निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको हो ।

आयोगले कानूनको प्रभावकारी कार्यान्वयनबाट मात्रै निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत हुने भन्दै निर्वाचनलाई बिथोल्ने कुनै पनि व्यक्ति र तत्वहरुलाई कारबाही गर्ने कुरामा पछि नहट्न निर्देशन दिएको छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा शुक्रवार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कानूनको प्रभावकारी कार्यान्वयन गर्ने कुरामा निर्वाचन अधिकृतहरुले पूर्ण रुपमा पालना गर्न र गराउन निर्देशन दिए । 

Advertisement

उनले निर्वाचन बिथोल्ने गतिविधि गर्नेहरुलाई नियन्त्रणमा लिइ निर्वाचन कसुर तथा सजाय ऐन अन्तर्गत कारबाही प्रारम्भ गर्न निर्देशन दिए । थपलियाले कतिपय ठाउँमा जसरी पनि जित्नुपर्छ भन्ने मानसिकता भएका उम्मेदवारहरु रहेको भन्दै फर्जी मतदान हुने खतरा रहेकाले त्यसतर्फ बढी चनाखो हुन निर्वाचन अधिकृतहरुलाई निर्देशन दिए । 

धेरै मतदान हुनु राम्रो भएपनि हँुदै नभएका व्यक्तिको मतदान गर्नु गम्भीर त्रुटी र निर्वाचनप्रतिको अवज्ञा भएकाले त्यसतर्फ सतर्कता अपनाउन थपलियाले  आग्रह गरे । 

उनले भने, ‘हाम्रा सबै कानूनी व्यवस्था पूर्ण छन् । मात्रै पालना गर्नेले पालना गर्नुपर्छ, कार्यान्वयन गर्नेले कार्यान्वयन गर्नुपर्छ । म सबै मतदान अधिकृत साथीहरुलाई कानूनको व्यवस्थालाई पूर्ण रुपमा अध्ययन गर्न र आफ्नो तर्फबाट सतप्रतिशत कार्यान्वयन गराउन र यदी कसैले पालना नगरे त्यस्ता व्यक्तिलाई पनि कानून बमोजिम कारबाही गर्न खुट्टा नकमाउन पनि अनुरोध गर्दछु । कानूनको प्रभावकारी कार्यान्वयनले नै निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्ष हुन्छ । कतिपय ठाउँमा मैले जसरी पनि विजय हाँसिल गर्नुपर्ने हुन्छ, निर्वाचन जित्नुपर्छ, भन्ने मानसिकता बोकेका प्रतिनिधि र उम्मेदवारहरुको कारणले फर्जी मतदान हुने खतरा पनि रही रहने अवस्था हुन्छ । धेरै मतदान हुनु राम्रो हो । तर, हँुदै नभएका व्यक्तिको मतदाता नामावलीमा नाम भएको तर मतदान गर्ने दिन त्यहाँ उपस्थित नभएका व्यक्तिको मतदान गर्नु गम्भीर त्रुटी हो र निर्वाचनप्रतिको यो अवज्ञा पनि हो ।’

प्रमुख आयुक्त थपलियाले मतदान गरिसकेको व्यक्ति पुनः मतदान गर्ने ठाउँमा आउँदा विभिन्न व्यवधान हुनसक्ने कुरालाई ध्यानमा राखि सुरक्षा निकायसँग समन्वय गरी त्यस्ता गतिविधि हुन नदिन पनि आग्रह गरे । उनले निर्वाचन मतदान कार्यमा उम्मेदवारका प्रतिनिधि र उम्मेदवारहरुको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुने भएकाले निर्वाचन कार्यलाई निष्पक्ष र स्वतन्त्र बनाउने कुरामा सहयोग हुने अपेक्षा गरेको बताए । 

थपलियाले मतदाताहरुले स्वच्छ, स्वतन्त्रता पूर्वक मतदानमा सहभागी हुन नसक्ने अवस्था सिर्जना भए अवस्थाको यथार्थ वस्तुस्थितिबारे आयोगमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा तत्काल जानकारी गराइ आयोगको निर्देशन बमोजिम कार्य अघि बढाउन निर्देशन दिए । उनले कतिपय अवस्थामा स्वस्तिक छाप र स्ट्याम्प प्याडको कारणले पनि केही मतपत्रहरु बदर भएका उदाहरण सुनिएको भन्दै बेलाबखत त्यसको चेकजाँच गर्ने र कहीँ कतै समस्या देखिए तत्काल मतदानलाई केही समय स्थगित गरी सामग्रीको व्यवस्था गरेर मतदान कार्यलाई सुचारु गर्नतर्फ पनि ध्यानाकर्षण गराउनु भयो ।

Advertisement

Advertisement