‘बालेनले अवैध संरचनामा डोजर चलाएजस्तै राप्रपा सत्तामा आएपछि भ्रष्टमाथि डोजर चलाउँछ’

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा शक्तिमा आए भ्रष्टाचारीहरुमाथि डोजर चलाउने बताएका छन् । 

शुक्रवार काठमाडौंमा राप्रपाले आयोजना गरेको चुनावी सभामा उनले राप्रपा शक्तिमा आए भ्रष्टाचारीहरुमाथि डोजर चलाउने बताएका हुन् । लिङदेनले काठमाडौं उपत्यकाका मेयर बालेन साहले अवैध संरचनामाथि डोजर चलाएजस्तै राप्रपालाई भ्रष्टाचारीहरुमाथि डोजर चलाउने इच्छा रहेको बताए । 

Advertisement

उनले एक नागरिक आयोग गठन गरी वि.सं.२०४६ सालपछि जिम्मेवारी पाएका राज्यका उच्चपदस्थहरुको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्ने बताए । लिङदेनले भ्रष्टाचारको बिरुद्धमा आफू निरन्तर लागिरहेको उल्लेख गरे । 

नेता लिङदेनले आफू संसदमा एक्लो भएकाले आगामी निर्वाचनबाट आफूलाई संसदमा साथी दिलाइदिन आम मतदातासँग आग्रह गरे । उनले आफूले पाँच वर्ष संसदमा खेलेको भुमिका राम्रो लागेको भए आफूसँगै राप्रपाका अन्य उम्मेदवारहरुलाई पनि जिताउन आग्रह गरे । 

लिङदेनले भने, ‘बालेनले काठमाडौंको अवैध संरचनाहरुमाथि डोजर चलाएजस्तै राप्रपालाई भ्रष्टाचारिहरुमाथि डोजर चलाउने इच्छा छ । हामीले निरन्तर भनेर आएका छौँ, भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह मानेर काम गर्छौं भनेर । फागुनसम्म अस्तिका सबै सांसदहरुले तलवभत्ता पाइराख्ने दशैँ पेस्की पाइराख्ने विधेयक ल्याए । एउटा राजेन्द्र लिङदेन मैले भने अनुचित मात्रै होइन घोर अनैतिक काम भयो । यो भन्दा ठूलो भ्रष्टाचार अर्को केही पनि हुन सक्दैन ।’ 

उनले थपे, ‘तपाईंहरुले मलाई पाँच वर्ष हेर्नुभयो । मैले पाँच वर्ष गरेको काम, त्यहाँ मैले उठाएको आवाजहरु तपाईंलाई ठिक लागेको छ कि छैन ? मैले ठिक गरेको छु भन्ने तपाईंले ठान्नुभएको छ भने मैले देशलाई भनिराखेको छु, म एक्लो भएँ । म साथीहरु मागिरहेको छु साथीहरु दिनुस् ।’

लिङदेनले पुराना दलहरुलाई फेरि पनि मतदान गर्नु देशलाई बर्बाद गर्नु भएको टिप्पणी गरे । उनले काँग्रेस र कम्युनिष्ट मतदाताहरुलाई आफ्नो पार्टी नछाडे पनि मत भने राप्रपालाई दिनका लागि आग्रह गरे । लिङदेनले काठमाडौं र धरानको स्थानीय तहको मत परिणामजस्तै गरी राप्रपाको पक्षमा परिणाम आउनुपर्ने बताए । 

उनले बाकस खोल्दामात्रै थाहा हुनेगरी हलो चुनाव चिन्हमा मतदान गर्न आग्रह गर्दै भने, ‘कतिचोटी तपाईंले उसलाई भोट दियो भने, कति वर्ष मौका दियो भने यो देश बन्छ ? बन्नेवाला छैन । गर्नेवाला छैन भन्ने कुरा तपाईंहरुलाई थाहा छ । थाहा पाइकन देशको भविष्य, देशको समय बर्बाद गर्ने काममा सहभागी नहुनुहोस् । सक्नुहुन्छ, सोझै राप्रपामा आउनुहोस् । राप्रपामा अहिले आउन सक्नुहुन्न, कोही बात छैन । काँग्रेस, कम्युनिष्ट नै भइराख्नुस् । तर यो चोटी हलोमा भोट हाल्नुस् । धरान र काठमाडौं नेपालको राजनीतिमा एक कदम अगाडी बढिसकेको छ । यहाँको चेतनास्तर उठेको छ भन्ने देखिएको छ ।’ 

Advertisement

Advertisement