खानदान हेरेर भोट दिनुसः सिंह, ‘देउवासँग आत्मसमर्पण गरेको होइन्, पोलिटिक्स गरेको हुँ’

Advertisement

काठमाडौं । सत्ता गठवन्धनबाट काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले खानदानी छानेर मतदाताले भोट दिनुपर्ने बताएका छन् । 

एपीवान टेलिभिजनको यक्षप्रश्न कार्यक्रममा आइतबार उनले काठमाडौं– १ का मतदाताले उम्मेदवारका विभिन्न मापदण्ड हुनुपर्ने बताउने क्रममा खानदान पनि हेर्नुपर्ने बताएका हुन् । 

Advertisement

साथै, सिंहले कांग्रेस महाधिवेशनमा देउवासँग किन आत्मसमर्पण गरेको ? भन्ने प्रश्नमा त्यो आत्मसमर्पण नभएर आफूले ‘राजनीति’ गरेको बताए । उनले भने, ‘आत्मसमर्पणको कुरा होइन् यो । यो ‘पोलिटिक्स’ हो । ‘पोलिटिक्स’मा के हुन्छ भने जुन इशुमा हामी अघि बढिरहेका हुन्छौं, त्यसको ब्याकग्राउण्ड के हो ? बुझ्नुपर्छ । मान्छेले झ्वाट्ट हेर्दा समर्पण गर्यो भन्छ ।’

पटक पटक अयोग्य र असफल भइसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विस्थापित गरेर नयाँ नेतृत्व स्थापित गर्ने मौका सिंह र अर्का नेता विमलेन्द्र निधिका कारण असफल भएको थियो । देउवालाई सभापति बनाउन अन्तिम समयमा सिंह तयार भएपछि उनी आमजनताबाट निकै आलोचित हुन पुगेका थिए । 

श्रीमतीको मेयर टिकटका लागि जोसँग प्रतिस्पर्धा गरेको थियो, त्यसैलाई आत्मसमर्पण गर्नुभयो भन्ने कुरा उनले स्वीकार्न चाहेनन् । सिंहले पार्टीभित्रको गुट अदलबदल स्वाभाविक भएको बताए । 

पार्टी नियमसम्मत चलाउनुपर्छ भनेर आवाज उठाउँदा रामचन्द्र पौडेल समूहले आफूलाई अन्याय गरेपछि छुट्टै समूह बनाएर सभापतिमा प्रतिस्पर्धा गरेको बताउँदै उनले ‘प्रकाशमान सिंह काठमाडौंको मात्रै नेता भएको, देशको नेता हुन नसकेको’ आरोपमा जवाफ दिन सकेनन् । श्रीमती मेयरमा हार्दा आफूलाई मात्रै नभएर कांग्रेसलाई पनि धक्का लागेको सिंहले बताए । 

‘काठमाडौंभित्र पकड गुमाउँदै आफ्नै टिकट सुरक्षित गर्ने अवस्थामा पुग्नुभयो’ भन्ने आरोपमा उनले काठमाडौंका दश वटै निर्वाचन क्षेत्र हेर्न सुझाव दिए । सिंहले आफूले आफूलाई प्रभावशाली भनेर कहिल्यै नभनेको दावी गरे । 

Advertisement

Advertisement