पर्यटन प्रवर्द्धनको रणनीतिक कार्ययोजना बनाउँदै पर्यटन बोर्ड

Advertisement

काठमाडौं । नेपाल पर्यटन बोर्डले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि रणनीतिक कार्ययोजना निर्माण गर्ने भएको छ । बोर्डअन्तर्गत जीविकोपार्जन पुनःउत्थानका लागि दीगो पर्यटन परियोजना (एसटीएलआरपी) ले पर्यटन प्रवर्द्धनको योजनाका लागि विज्ञ सरोकारवालासँग छलफल गरेको छ । 

सोही प्रयोजनका निम्ति एसटीएलआरपीले विज्ञहरूको सहभागितामा विभिन्न प्रादेशिक मन्त्रालय, नगरपालिका तथा पर्यटनसँग सम्बन्धित निकायबीच कार्यशाला आयोजना गरिसकेको बोर्डले सोमबार विज्ञप्तिमार्फत जनाएको छ ।

Advertisement

उक्त कार्यक्रममार्फत आन्तरिक पर्यटनको वर्तमान स्थिति, प्रवर्द्धनमा बाधा पुर्याउने विद्यमान नीतिभित्रका अन्तरहरूको अन्वेषण र विश्लेषण गरिएको छ ।  साथै आन्तरिक पर्यटन प्रवर्द्धनका लागि नीतिगत सुधार, तीन तहका सरकारको भूमिका र दायित्व आदि विषयवस्तुमा गहन छलफल गरी आन्तरिक पर्यटन रणनीतिक कार्ययोजना निर्माण गरिने परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले जानकारी दिए । 

उनका अनुसार बोर्डले पहिलो चरणमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पर्यटन मन्त्रालय, नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा), होटल एशोसिएशन नेपाल (हान) तथा विभिन्न नगरपालिका र पर्यटनसँग सम्बन्धित अन्य सरोकारवाला सस्थासँग मिलेर कार्ययोजना तयार गर्न लागिएको छ । 

प्रदेशमा आयोजना गरिएको कार्यशालामा विज्ञ तथा सरोकारवालाले स्पष्ट पर्यटनमैत्री नीति, पर्यटनमा एकद्वार प्रणाली, पर्यटन व्यवसायलाई २४ सै घण्टा सञ्चालनको व्यवस्था र जनशक्तिको क्षमता अभिवृद्धिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको बोर्डले उल्लेख गरेको छ । व्यवसायीले स्थानीय खाद्यान तथा घरबास कार्यक्रम ‘होमस्टे’ लाई प्रोत्साहन गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

लुम्बिनीमा आयोजित कार्यशालामा सरोकारवालाले आन्तरिक पर्यटन प्रवद्र्धनको रणनीति आवश्यक रहेको बताउँदै आन्तरिक पर्यटन प्रवर्द्धनका लागि अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजना तर्जुमा गर्नुपर्ने कुरामा जोड दिएका छन् । सुदूरपश्चिमको धनगढीमा आयोजित कार्यशालामा नेपालमा आन्तरिक पर्यटनको प्रचुर सम्भावना रहेकाले यसको प्रवर्द्धनका लागि छुट्टै आन्तरिक पर्यटन प्रवर्द्धनको रणनीति एवं ठोस योजना आवश्यक रहेको सुझाएका छन् ।

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सहकार्यमा कोभिड–१९ का कारण रोजगारी र आयआर्जनका अवसर गुमाएका पर्यटन क्षेत्रका श्रमिक मजदुरले अल्पकालीन रोजगारको अवसर प्राप्त गर्ने लक्ष्यका साथ कार्यक्रम ल्याइएको हो । प्रमुख पर्यटकीय गन्तव्यस्थलका पर्यटकीय सम्पदाको सम्वद्र्धन र विकासका कार्यक्रममार्फत पर्यटन उद्यमी र श्रमिकका लागि रोजगार र आयआर्जनका अवसरमा वृद्धि गर्ने परियोजनाको उद्देश्य रहेको छ ।

यसै सन्दर्भमा परियोजनाले कोभिडका कारण पर्यटन व्यवसायी तथा जनशक्तिमा परेको प्रभावलाई मूल्याङ्कन गरी आगामी दिनमा विपत्ति तथा चुनौतीसँग सामना गर्न सक्ने गरी आन्तरिक पर्यटन रणनीतिक कार्ययोजना निर्माण गर्न लागेको परियोजनाका विज्ञ धर्म दवाडीले बताए । यस प्रकारका कार्यशाला क्रमशः सबै प्रदेशमा आयोजना गरिने र सोको आधारमा रणनीति तय गरिने उनले  बताए । 

Advertisement

Advertisement