विश्वकप क्रिकेट लिग २ को अङ्कतालिकामा नेपालको अवस्था निराशाजनक

Advertisement

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ को अङ्कतालिकामा नेपाल निराशाजनक अवस्थामा देखिएको छ । स्कटल्यान्डसँगको खेल स्थगित भएपछि अंक तालिकामा सबैभन्दा तल रहेको नेपाल अन्तिमबाट दोस्रोमा उक्लिए पनि अवस्था भने चिन्ताजनक देखिएको हो । 

अमेरिकाको ड्यालसमा आँधीबेहरी आउनसक्ने सम्भावना र वर्षाका कारण सोमवार राति स्कटल्यान्ड र नेपालबीचको खेल सुरु भएपछि रद्द भएको थियो । यो खेल सँगै विश्वकप क्रिकेट लिग २ को सन् २०२३–२७ अन्तर्गत नेपालले सन् २०२४ मा खेल्ने तय भएका तीनवटा शृङ्खला सकिएका छन् ।

Advertisement

विगत डेढ महिनाको अवधिमा नेपाली टोलीले क्यानडा र अमेरिकाको भ्रमण गरिसकेको छ । तर दुवै भ्रमण फलदायी भएनन् । क्यानडामा जम्मा एक अङ्क बटुलेको नेपालले अमेरिकामा तीन अङ्क जोड्यो । आठ खेलबाट नेपालले चार अङ्क मात्र जोड्न सकेको हो । समग्रमा यो वर्षको लिग २ बाट नेपालले ६ अङ्क मात्र पाउन सकेको बीबीसीले जनाएको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा चर्चा बटुलेको नेपाली टोलीको ब्याटिङ फेरि कमजोर हुन थालेको देखिन्छ । एसोसिएट वर्गका नेपाल, क्यानडा, अमेरिका, स्कटल्यान्डन, नेदरल्यान्ड्स, नामिबिया, ओमान र यूएईसहित आठवटा देशका टोलीहरू चारवर्षे शृङ्खलामा सहभागी छन् ।

एउटा टोलीले हरेक वर्ष घरेलु मैदानमा एक तथा बाहिर दुईवटा शृङ्खला खेल्ने छ । समग्रमा टोलीले सन् २०२७ सम्ममा ३६ खेल खेल्ने छन् । यसैपटक मात्रै लिग २ को शृङ्खलामा उक्लिएको क्यानडाले राम्रो प्रदर्शन गरेको छ । क्यानडा र अमेरिका दुवैले १६ अङ्क बटुलेका छन् । रन रेटका कारण क्यानडा दोस्रो स्थानमा छ ।

कुल १२ खेल खेलेको नेपालसँग भने छ अङ्क मात्र छ । नेपाल तालिकाको सातौँ स्थान अर्थात पुछारबाट दोस्रो स्थानमा छ । अन्तिम आठौँ स्थानमा चार अङ्कका साथ यूएई छ । हालसम्म नौ खेल खेलेको यूएईले अझै तीन खेल खेल्न बाँकी छ ।

तालिकाको तेस्रो स्थानमा १४ अङ्कका साथ साबिक विजेता स्कटल्यान्ड छ । उसले ११ खेल खेलेको छ । चौथो स्थानमा रहेको नेदरल्यान्ड्सले नौ खेलबाट १२ अङ्क जोडेको छ । कुल १२ खेलबाट १० अङ्क जोडेको नामिबिया तालिकाको पाँचौँ स्थानमा छ भने छैटौँ स्थानमा ओमान छ । उसले नौ खेलबाट आठ अङ्क बटुलेको छ ।

आईसीसी विश्वकप लिग २ को गत सन् २०१८–२२ को शृङ्खलामा भने नेपालले तेस्रो भएको थियो । सोही कारण नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई)को मान्यता जोगाउनुका साथै सिधै विश्वकप छनोटमा पुग्ने अवसर पनि पाएको थियो । तर यस पटक भने सो संभावना कठिन बनेको छ । 

तीन शृङ्खलाको विश्वकप लिग २ को परिणामपछि नेपाली टोलीमाथि चुनौती थपिएको छ । जम्मा नौ शृङ्खला खेल्नुपर्ने नेपालले अब सन् २०२७ सम्म छ शृङ्खला खेल्न बाँकी छ । अब नेपालले आगामी वर्षको मे महिनामा स्कटल्यान्डमा नेदरल्यान्ड्ससँग र अक्टोबरमा यूएई गएर अमेरिका र यूएईसँग खेल्ने छ । सोही वर्षको अन्त्यतिर नेपालले यूएईसँग नेपालमा खेल्ने बीबीसीको भनाई छ । 

Advertisement

Advertisement