ठूला दल प्रमुख नेताहरुलाई भोट नदिन डा. गोविन्द केसीको सार्वजनिक आह्वान

Advertisement

काठमाडौं । डा. गोविन्द केसीले प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुलाई आगामी निर्वाचनमा भोट नदिन मतदाताहरुलाई सार्वजनिक आह्वान गरेका छन् । 

मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले प्रधानमन्त्रीसमेत रहे का नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत शीर्ष नेताहरुलाई भोट नदिन आग्रह गरेका छन् । 

Advertisement

केसीले शीर्ष नेताहरुले देश र जनतालाई धोका दिएको बताए । शीर्ष नेताहरुले राजनीतिलाई भ्रष्टिकरण र अपराधिकरण गरेको उनले आरोप लगाए । शीर्ष नेताहरुले भ्रष्टाचार, अपराध, अक्षमता र तानाशाही प्रवृत्ति भएकाहरुलाई चुनावमा उम्मेदवार बनाएर इमान्दारिताको राजनीति गर्नेहरुलाई पाखा लगाएको पनि उनले उल्लेख गरे । 

केसीले पूरानै नेताहरुको हालिमुहालीका कारण देश विगत पाँच वर्षमा दशौँ वर्ष पछाडी धकेलिएको बताए । उनले आफ्नो प्रतिनिधि चयन गर्दा अघिल्लो निर्वाचनमा जस्तो गल्ती नगर्न पनि मतदाताहरुलाई आग्रह गरे । 

केसीले सबै पार्टीमा राम्रो नेताहरु पनि भएकाले राम्रो नेतालाई मात्रै छानेर भोट दिन आग्रह गरे । उनले भने, ‘ओली, देउवा र प्रचण्ड लगायत ठूला दलका नेताहरु आम मानिसलाई राहत दिन हैन ठग ठेकेदार र अपराधीहरुबाट अरबौं असुली गर्दै तिनलाई चुनावको उम्मेदवार बनाउने र तिनकै बलमा सत्ताको रजाइँ गर्ने होडमा छन् । विदेशमा श्रम गरेर देशको अर्थतन्त्र धान्ने नागरिकहरु मताधिकारबाट वञ्चित छन् । जसको भ्रष्टाचार, अपराध, अक्षमता र तानाशाही प्रवृत्ति प्रमाणित भएको छ, त्यस्ता उम्मेदवारहरुलाई चुनावमा नहराएसम्म यो देशको राजनीति संग्लिने छैन । त्यसका लागि हामीसित तम्तयार विकल्प नहुनसक्छ तर विकल्प सिर्जना गर्ने मौका पनि अहिले हामीसित छ ।’ 

केसीले थपे, ‘देशमा अराजकता, भ्रष्टाचार, अपराध र लुटतन्त्र मच्चाउने तथा तानाशाही आकांक्षा बोकेका तथा राज्य सञ्चालनमा नालायक प्रमाणित भइसकेको मुख्य दलका शीर्ष नेताहरुको हालीमुहाली कायम रहँदा गएको पाँच वर्षमा देश दशौं वर्ष पछाडी धकेलिइसकेको छ । त्यसैले आगामी निर्वाचनलाई जिम्मेवारीपूर्वक अवसरका रुपमा प्रयोग गर्न तथा अघिल्लो चुनावको जस्तो गल्ती फेरि नदोहो¥याउन समग्र मतदाताहरुलाई अपिल गर्दछौँ । साथै आउँदा चुनावहरुमा वैदेशिक रोजगारीमा रहने युवाहरुको मताधिकार सुनिश्चित गर्ने माग पनि राख्न चाहन्छौँ । शीर्षस्थ नेता, देश, जनतालाई धोका दिने, जनताको विश्वासघात गर्ने नेताहरुलाई भोट नहाल्नु होला । नत्र देश अर्को दश वर्ष पछाडी धकेलिन्छ । अराजकता त छँदैछ । असफल राष्ट्र हुन्छ । त्यो हामी चाहदैनौँ । नयाँ पुस्तालाई, युवा पुस्तालाई विधिको शासन स्थापित गरेर जाऔँ । विधिको शासन स्थापित गराउने हो भने यि राजनीतिलाई भ्रष्टीकरण, अपराधीकरण गर्ने शीर्षस्थ नेताहरुलाई भोट नदिउँ । अरु नेताहरु छन् । सबै पार्टीमा राम्रा नेताहरु छन् । ति उम्मेदवारहरुलाई भोट दिउँ ।’    

उनले नेपाली जनताहरु नेतृत्वबाट ठगिएका बताए । नेपालमा भ्रष्टाचार र लुटतन्त्र संस्थागत भएर चरम सीमामा पुगेका कारण आर्थिक प्रगति हुन नसकेको उनको भनाई छ ।

Advertisement

Advertisement