काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा आरोपको थुप्रो भारी बोकेर आज (मंगलबार)बाट विदा भएका छन् । जबराको राजीनामा माग्दै आन्दोलन गर्नेदेखि महाभियोगको प्रस्ताव दर्ता गरेर कार्यालयमा जान नदिने असंवैधानिक कार्यमा धेरै आरोप लगाइए पनि यसभित्रको खेल भने अर्कै थियो ।
निडर र सम्झौता गर्न नखोज्ने स्वाभावका जबरामाथि सत्ताधारी दलका ठूला नेताको विश्वास थिएन् । अर्बौं रुपियाँ भ्रष्टाचारका मुद्दा खेप्दै आएका नेताहरु जबराका कारण कुनै पनि दिन दण्डित भएर जेल जानुपर्ने हो कि भन्ने कुराले यति धेरै भयभित थिए कि उनीहरुले सबै अस्त्र प्रयोग गरेर भए पनि महाभियोग प्रस्ताव दर्ता गराएर निलम्बनको पत्र थमाउने, लामो समयसम्म यसको टुंगो नलगाउने, असैवधौनिक ढंगले अघि बढाइएको महाभियोग प्रस्ताव निष्क्रिय भएपछि पनि सत्ताको बलमा कार्यालय जान नदिने कार्य गरे ।
जबरालाई ‘साइज’मा राख्न दलहरुले सर्वोच्च अदालतभित्र लामो समयदेखि सिण्डिकेट चलाउँदै आएका र दलनिकट न्यायाधीश
र वकिलहरुलाई परिचालन गरेर अदालतभित्र आन्दोलन गराउने, राजीनामा माग्न लगाउने, प्रधानन्यायाधीशलाई नै कार्यालय आउन नदिनेसम्मका कार्यहरु गरिए ।
महाभियोग छानविन समितिको बयानका क्रममा सहजताका साथ बयान दिएर अदालत र राजनीतिभित्रका बिकृतिहरु उदांग पार्ने प्रयास गरेका जबराप्रति सत्तारुढ नेकपा एमाले केही नरम जस्तो देखिए पनि उसको भूमिका दोहोरो देखिन्थ्यो । एमालेले साँच्चै दबाब दिएको खण्डमा जबरा कार्यालय फर्किनसक्ने संभावना धेरै थियो । तर उसले त्यो ढंगले प्रस्तुत हुन सकेन् । कांग्रेस सभापति शेरबहादुर देउवा सत्ता हात पार्ने स्वार्थमा जबरामाथि जस्तोसुकै अन्याय गर्न पनि तयार भएर प्रस्तुत भए र आफ्ना साँसदहरुलाई सजिलै महाभियोग प्रस्तावमा हस्तक्षर गराए ।
विशेषगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेपाल समाजवादी पार्टीका बाबुराम भट्टराई र अदालतभित्रको न्यायाधीश र वकिलहरुको गिरोह कुनै पनि हालतमा जबरालाई प्रधानन्यायाधीशको कुर्सीमा बस्न दिन हुन हुन्न भनेर लागेको थियो ।
राष्ट्रका पक्षमा थुप्रै फैसला गरेका कारण कतिपय विदेशी शक्तिसमेत जबरादेखि रुष्ट रहेको अनुमान गरिन्छ । तर उनले अन्तिमसम्म हकका लागि संघर्ष गर्दै गर्दै आए पनि सत्ता र ती शक्तिहरुको अगाडि उनको केही लागेन् । अबकाश भएर गए पनि ती गिरोहहरु जबराप्रति अझै पनि त्रस्त देखिन्छन् । उनीहरु जबराविरुद्ध अझै पनि षडयन्त्रमा लागिरहने र कुनै मुद्दामा उनलाई जेल हाल्ने प्रयासमा लागिरहने देखिन्छ । यद्यपि जबराको पक्षमा पछिल्लो समयमा जनसमर्थन बढ्दै गएकाले त्यो खालको प्रयास सहजै सफल हुने संभावना भने कम देखिन्छ ।