आयोगले सार्वजनिक गर्यो निर्वाचनको अन्तिम मतपरिणाम, बिहीबार राष्ट्रपतिलाई बुझाइने

Advertisement

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न संसदीय निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छ । वुधबार पत्रकार सम्मेलन गर्दै आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक निर्वाचनतर्फको परिणाम सार्वजनिक गरेको हो । 

प्रतिवेदन बिहीबार राष्ट्रपतिलाई प्रतिवदेन बुझाउने तयारी गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपिलयाले जानकारी दिए । यस निर्वाचनमा प्रतिनिधि सभातर्फ २७५ र प्रदेश सभातर्फ ५५० जना गरी कूल ८२५ जना निर्वाचित भएका छन् । 

Advertisement

जसमा प्रतिनिधि सभातर्फ पुरुष १८४ जना अर्थात ६६ दशमलव ९० प्रतिशत र महिला ९१ जना अर्थात ३३ दशमलव १० प्रतिशत निर्वाचित भएका छन् । त्यस्तै प्रदेश सभातर्फ पुरुष ३५० जना अर्थात ६३ दशमलव ६४ प्रतिशत र महिला दुईसय जना अर्थात ३६ दशमलव ३६ प्रतिशत निर्वाचित भएका छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा एक करोड १० लाख ४७ हजार ३४ (६१ दशमलव ४१ प्रतिशत) मतदान भएकोमा एक करोड चार लाख ८७ हजार ९५८ मत सदर भएको थियो भने पाँच दशमलव शून्य छ प्रतिशत मत बदर भएको जनाइएको छ ।

त्यस्तै, प्रतिनिधिसभा सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ एक करोड ११ लाख २६ हजार २२६ (६१ दशमलव ८५ प्रतिशत) मतदान भएकोमा एक करोड पाँच लाख ६० हजार ८२ मत सदर भई पाँच दशमलव शून्य नौ प्रतिशत मत बदर भएको थियो ।

प्रतिनिधि सभातर्फ पुरुष एक हजार ७७२ र महिला १८९ गरी जम्मा एक हजार ९६१ जना तथा प्रदेशका समेत गरी चार हजार २८५ जना उम्मेदवारहरूको धरौटी रकम जफत भएको थपलियाले बताए । 

निर्वाचनबाट सात राजनीतिक दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि ८६ वटा राजनीतिक दल दर्ता भएकोमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ६१ वटा राजनीतिक दल र समानुपातिक निर्वाचन प्रणालीतर्फ ४७ वटा राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए ।

Advertisement

Advertisement