संसद सेवाबारे सधैँ नकारात्मक नबन्न निजामति कर्मचारीहरुलाई महासचिव गौतमको चेतावनी

Advertisement

काठमाडौं । संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले नेपाल निजामति कर्मचारी युनियनलाई संसद सेवाका बारेमा सधैँ नकारात्मक पक्षहरुको मात्रै उठान नगर्न चेतावनी दिएका छन् । 

बुधवार संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले संसद सेवाका बारेमा सकारात्मक कुराहरु बिर्सिएर नराम्रा कुराहरु मात्रै उठाउनु नहुने बताएका हुन् । गौतमले कर्मचारीहरुले धेरै कुराहरु सुधार गरेर जान आवश्यक रहेको भन्दै युनियनले अध्ययन गरेर सेवा सुविधाका बारेमा छलफल बढाउनुपर्ने बताए । 

Advertisement

उनले कर्मचारीहरुको सेवा, सुविधाहरु दिने कुरामा सक्नेजति गरिरहेको भन्दै नसक्ने कुरा गर्न नमिल्ने बताए । गौतमले संसदले गरेका राम्रा कामहरुको बारेमा अध्ययन समिति बनाएर हेर्न युनियनलाई सुझाव दिए । उनले युनियनले राम्रा कामहरु बिर्सिएर नराम्रा कुराहरु मात्रै लिएर आउन नमिल्ने बताए ।

संसद सचिवालयले युनियनलाई परिवारको रुपमा हेरेको भन्दै गौतमले कर्मचारीहरुले रचनात्मक कुरामा ध्यान दिन जरुरी रहेको बताए । उनले महासचिव नरम छ भन्ने सोचेर नरमताको फाइदा नउठाउन चेतावनी पनि दिए । 

गैतमले भने, ‘आजको व्यवस्थापनको जिम्मा मुल समारोह समितिलाई भन्न चाहन्छु, के चाहिएको हो भन्नुपर्दैन ? एउटा कुरा नभएर यस्तो हुन्छ ? बढुवाका अपच्र्युनिटीहरु छन् । बढुवाको संख्या पुगेको छैन् । तपाईं र हामीले खोजेको के हो ? निजामतिमा जाऔं ठिक छ । खोल्ने भए खोलौँ न त । के भयो र ? क्लोजको त हामीलाई पनि पीडा थियो नि । हामीले कयौँ कुराहरु सुधार गरेर जानुपर्छ । म भन्छु, युनियनले एउटा अध्ययन गर्ने भए गरोस् । मैले बेलैमा भनेको छु तर त्यो अध्ययनवेश होस् । इमोशनलमा होइन । सक्ने कुरा सकेका छौँ । नसक्ने कुरा सकिन्छ भन्न सकिँदैन । आजको दिवस भनेको विशुद्ध संसद सेवाका कर्मचारीहरुको दिवस हो । मलाई यसपटक सबैभन्दा राम्रो कार्यक्रम हुन्छ भन्ने लागेको थियो । युनियनलाई म आग्रह गर्दछु । विगतका पुरस्कारको पनि लिस्ट हेर्नुहोला । विश्लेषण गर्नुहोला । संसद सेवाका बारेमा हामी जहिल्यै नराम्रा पक्ष मात्रै उठाउने ? हामीसँग सकारात्मक पक्षहरु छैनन् ? तपाईंहरु एउटा अध्ययन समिति बनाउनुहोस् । के राम्रा काम भएका छन् हेर्नुहोस् । जहिल्यै नेगेटिभ कुरा लिएर मात्रै आउने होइन ।’ 

एनले थपे, ‘युनियनको अर्थ त्यो हो जस्तो लाग्दैन । संसद सचिवालयले युनियनलाई जहिले पनि परिवारको रुपमा हेरेको छ । क्रिटिकल मास हो । रचनात्मक कुरा हुनुपर्छ । नेगेटिभ कुरा मात्रै गरेर होइन । म कति वेलकमिङ छु । के वेलकमिङ हुन कमजोरी हो । तपाईंहरुले यो नसोच्नुहोस्, यो महासचिव धेरै नरम छ । नरमले बोलेको भाषा यसले मूल्यांकन गर्दैन भन्ने नसोच्नुस् । मैले आफैँ ट्वाइलेट, ट्वाइलेट हेरेको छु । बगैँचाको प्रत्येक कुनामा पुगेको छु ।’

महासचिव गौतमले कर्मचारीहरुले आफूले गरेका कमजोरीहरुको सुधार गरी आगामी दिनमा सेवा प्रवाहमा थप जोडबल दिन आग्रह गरे । संसद सेवा दिवसको अवसरमा सचिवालयले ५० हजार पुरस्कार राशीको संसद पुरस्कार कार्यालय सहयोगी चन्द्रबहादुर नगरकोटी, संसद सेवा पुरस्कार ५० हजार राशीको खरिदार चन्द्रप्रसाद ढुंगाना, उत्कृष्ट संसद सेवा पुरस्कार ७५ हजार पुरस्कार राशीको शाखा अधिकृत, बाबुराम बस्याल र एक लाख पुरस्कारको संसद सेवा पुरस्कार उपसचिव सिर्जना बराललाई प्रदान गरेको छ ।  

Advertisement

Advertisement