Advertisement

काठमाडौं । न्याय माग्दै विरोध प्रदर्शनमा उत्रिएका मिटरब्याजीपीडित र प्रहरीबीच झडप भएको छ । रत्नपार्कस्थित शान्ति बाटिकामा पीडितहरुले प्रदर्शन गर्ने क्रममा शान्तिबाटिकाबाट बाहिरिने क्रममा प्रहरीले रोक्दा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो । 

प्रदर्शनमा निस्किएकामध्ये ३० जना मिटरब्याजीपीडितहरुलाई प्रहरीले नियन्त्रणमा लिएको एक मिटरब्याज पीडित एक सदस्यले बताए । उनले शान्तिपूर्ण रुपमा आफूहरुले प्रदर्शन गर्न लागे पनि प्रमुख जिल्ला अधिकारीले प्रदर्शनकारीको झण्डामा लौरो रहेको भन्दै प्रदर्शन गर्नबाट रोक लगाएको बताए । 

Advertisement

पीडितले प्रहरीले प्रदर्शनकारीमाथि दमन गरेको गुनासो गरे । ती पीडितले आफ्ना साथीहरुलाई प्रहरीले नियन्त्रणमा लिएकोप्रति आपत्ति जनाउँदै आफ्नो माग पूरा नभएसम्म आन्दोलन गरिराख्ने बताए । 

शान्तिवाटिकामा बसेर आन्दोलन गरिरहेका मिटरब्याज पीडितले सोमबार सिंहदरबार वरपर प्रदर्शन गर्ने तयारी गरेका थिए । सिंहदरबार वरपर आन्दोलन गर्न नदिने भन्दै गृह मन्त्रालयले प्रहरी प्रशासन तैनाथ गर्न लगाएपछि शान्ति बाटिकामा नै प्रहरी र मिटरब्याजी पीडितबीच झडप भएको हो । 

प्रहरीले मिटरब्याजीपीडितलाई लखेट्न पानीको फोहोरा र लाठी हानेको प्रहार समेत गरेको प्रदर्शनकारीले बताए । सरकारले मिटरब्याज पीडितको एक समूहसँग चैत १८ गते ५ बुँदे सहमति गरेको थियो । तर उक्त सहमतिले मिटरब्याज पीडितको तत्कालको समस्या समाधान नहुने भन्दै मिटरब्याज पीडितको अर्को समूहले आन्दोलन गर्दै आएको छ । 

Advertisement

Advertisement