जनैसमेत चीनबाट आयात गर्नुपर्ने लाजमर्दो अवस्था अन्त्य गर्न लागिपरे लोकनाथ

Advertisement

काठमाडौं । असी प्रतिशतभन्दा बढी हिन्दु धर्म मान्नेहरु बसोबास गर्दै आएको नेपालमा जनै पूर्णिमा तथा धार्मिक कार्यहरुमा धारण गर्ने जनैसमेत ठूलो मात्रामा चीनबाट आयात हुन थालेको छ । जनैसमेत गैरहिन्दु मुलुकबाट बनाएर ल्याएर प्रयोग गर्नुपर्ने लाजमर्दो अवस्था अन्त्य गर्न लागिपरेका छन् बुटवलका लोकनाथ काफ्ले । 

वैदेशिक रोजागारीमा २२ बर्ष बिताएर आफ्नै मातृभूमिमा केही गर्छु भनेर फर्किएका उनी अहिले जनै उत्पादनमा लागेका छन् । जनै समय चीनबाट आयात हुने गरेको देखेपछि आफ्नो मुलुकको धर्म संस्कृति जोगाउने मात्रै नभएर प्रवर्द्धन गर्न भन्दै काफ्ले यस पेशामा लागेका हुन् । 

Advertisement

आठ लाख रुपियाँ लगानीमा ‘हरिओम पूजा सामग्री उद्योग’ सञ्चालनमा ल्याएका उनले विगत पाँच वर्षदेखि जनै, रक्षावन्धन धागो, बाती धागो उत्पादन तथा बिक्री गर्दै आएका छन् । यी सामग्री उत्पादन कार्यमा स्थानीय ६० जनालाई काफ्लेले रोजगारी पनि दिएका छन् । 

उनले भने, ‘जनै, धागोहरु विधि पुर्याएर तयार पार्नुपर्ने भएकाले युवायुवती भन्दा पनि वृद्धवृद्धा, अशक्तलाई काम दिने गरेको छ । उहाँहरुले हातले नै बनाएर दिनुहुन्छ । त्यसवापत उहाँहरुले पारिश्रमिक पाउनुहुन्छ ।’ काफ्लेले यस कार्यमा सबै खर्च कटाएर मासिक ४० हजार रुपियाँ जति आम्दानी गर्ने गरेको बताए । 

हरिओम पूजा सामग्री उद्योगबाट उत्पादित जनै काठमाडौं, विर्तामोड, धनगडी, पोखरा, चितवनलगायतका जिल्लामा बिक्री हुने गरेको छ । उनले जनै, बाती धागो उत्पादन गर्न भारतबाट सुतीको धागो आयात गर्ने गर्छन् । 

काफ्लेले भने, ‘शुद्ध सुतीको धागोबाट जनै बनाउने हो हामीले । बाती धागोका लागि विभिन्न तौलका गोला मेसिनबाट बनाउँछौं । जनै बिधिपूर्वक बनाउने भएकाले धारण गर्न कुनै शंका मान्नुपर्दैन् । बरु कहिलेकाहीं भारतबाट सुतीको आगो आयात गर्दा समय लगाइदिन्छ । त्यसले गर्दा अभाव हुने गरेको छ । तर बनाउँदा बिधिपूर्वक नै बनाएर शुद्ध जनै धागो बेच्ने हो ।’ 

उनले आफूले उत्पादन गर्ने जनै प्रतिगोटा पाँच रुपियाँमा बिक्री गर्ने गरेको बताए । हिन्दू धर्मका वैदिक ग्रन्थअनुसार जनैलाई ब्रम्हासुत्र अर्थात् वेदोक्त कर्म सम्पादन गर्न र वेदाध्यान गर्ने अधिकार प्राप्तीका लागि धारण गर्न मन्त्रिएको धागो भन्ने बुझिन्छ । 

जनैका शिखाहरूमध्ये एउटा जनैमा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा तीन डोरालाई कर्म, उपासना र ज्ञानको प्रतिकको योग मानिन्छ । शुद्ध जनै र रक्षाबन्धन सुती धागोबाट बनेको नौ सरा हुनुपर्ने हुन्छ । उपनयन संस्कार अर्थात् व्रतबन्ध गरेपछि तागाधारीले जनै टुटाउन नहुने शास्त्रीय मान्यता छ ।

काफ्लेले वर्षभरी उत्पादन गरेका जनै, रक्षावन्धन धागो जनै पूर्णिमाको दिनलाई लक्षित गरी बिक्री गर्छन् । उनले आफूले उत्पादन गरेका जनै र धागोहरु सबै नेपालभित्रै खपत हुने बताउँदै चीनबाट आयात हुने नक्कली जनैको धागो पनि सुतीको नहुने र शिखा पनि नहुने बताए । 

पण्डित (पुरोहित)हरुले आफ्ना उत्तराधिकारीहरुलाई वैद्धिक तथा शास्त्रीय जनै र रक्षाबन्धन बनाउने सीप हस्तान्तरण गर्नु जरुरी रहेको काफ्लेले बताए । उनले यस्तो सीप संरक्षण गर्न राज्यले नै सहयोग गर्नुपर्नेमा सरकार उल्टै पराया धर्मलाई प्रवर्द्धन गर्न लागेको देखिन थालेको गुनासो गरे । 

Advertisement