स्वदेशमै सम्भव स्वास्थ्योपचार विदेशमा गएर गरे भीआईपीलाई पनि खर्च दिइन्नः स्वास्थ्यमन्त्री

Advertisement

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले भीआईपी र भीभीआईपीले स्वदेशमै संभव उपचार विदेशमा गर्न गए सरकारले खर्च नव्यहोर्ने जिकिर गरेका छन् । यसअघिका स्वास्थ्यमन्त्रीले जस्तै बस्नेतले पनि सो कुरा दोहोर्याएका हुन् । 

शुक्रवार वीर अस्पतालको १३४ औं वार्षिकोत्सवमा उनले नेपालमा हुने उपचार गर्न विदेश गएको खण्डमा त्यहाँ लाग्ने उपचार खर्च आफैँले व्यहोर्नुपर्ने बताए । यस्तो नीति यसअघि नै जारी भए पनि पालना भने हुन सकेको छैन् । बस्नेतले स्वदेशमा सम्भव हुने उपचारलाई विदेशमा जान नहुने भन्दै त्यसको लागि अभियान थालेको बताए । 

Advertisement

उनले नेपालमै उत्कृष्ट चिकित्सक र नर्सहरु रहेको भन्दै नेपालभित्रै उत्कृष्ट स्वास्थ्य सेवा प्रवाह भइरहेको बताए । बस्नेतले अहिले पनि विदेशी चिकित्सकहरु नेपालमा पढ्न आउने गरेको दावी गरे । उनले नेपालको चिकित्सा सेवा उत्कृष्ट रहेको बताए । 

गरिव तथा विपन्न वर्गलाई १० प्रतिशत शैय्या सबै अस्पतालमा लागू भएको दावी गर्दै उनले गरिव, विपन्न, असहाय र बेवारिसे बिरामीहरुले निःशुल्क उपचार पाउन थालेको बताए । अहिले तीन हजार ५२३ बेड निःशुल्क भइसकेको बताए । 

गरिव र विपन्नताका कारण आधारभुत स्वास्थ्य सेवाबाट वञ्चित हुनपर्ने अवस्थालाई कम गरेको बताउँदै मन्त्री बस्नेतले सदैव वीर अस्पताललाई सुधार गर्न तल्लिन रहेको बताए । 

वीर अस्पतालले लामो समयदेखि बन्द अवस्थामा रहेको वर्न सेन्टर सञ्चालनमा ल्याउन लागेको छ । वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले लामो समयदेखि बन्द भएको वर्न सेन्टरलाई पुनः सञ्चालनमा ल्याउन लागेको जानकारी दिए । 

उनले वर्न सेन्टर स्थापनाका लागि सरकारले बजेट व्यवस्थापन गरिसकेका कारण पनि यही वर्षबाट सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए । 

यसैवर्ष सघन उपचारको क्षमता बिस्तार गरेर एक सय बेडमा पुर्याइने लक्ष्य लिएको वीर अस्पताल १५ शैयाबाट शुरु भएको हो ।

Advertisement

Advertisement