काठमाडौं । वाणिज्य बैंकहरूले मंसिर महिनाका पुनः ब्याजदर घटाएका छन् । बैंकहरूले प्रकाशित गरेको विवरणअनुसार कात्तिकको तुलनामा मंसिरमा ०.२१७४ प्रतिशतले ब्याजदर घटेको हो ।
कात्तिक महिनामा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतममा औसतमा ६.१८७८ प्रतिशत ब्याज दिएका थिए । मंसिरमा भने औसतमा ५.९७०३ प्रतिशत ब्याज दिने भएका छन् ।
कात्तिक महिनाको तुलनामा मंसिरमा १२ बैंकहरुले ब्याजदर घटाएका छन् भने ८ वाणिज्य बैंकहरुले असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । एक वाणिज्य बैंकले भने ब्याजदर थोरै बढाएको छ ।
मंसिर महिनामा सबैभन्दा बढी ब्याज दिने बैंक एनआईसी एशिया बैंक रहेको छ । सो बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतममा ६.७९ प्रतिशतका दरले ब्याज दिने भएको छ । सबैभन्दा कम ब्याज भने लक्ष्मी सनराइज बैंकको रहेको छ, जसले अधिकतम ५.५ प्रतिशतका दरले ब्याज दिनेछ ।
सर्वाधिक ब्याज घटाउने बैंक भने माछापुच्छ्रे बैंक रहेको छ । कात्तिक महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतममा ७ प्रतिशत ब्याज दिएको यस बैंकले मंसिरमा ६ प्रतिशतका दरले ब्याज दिने भएको छ। राष्ट्रिय वाणिज्य बैंकले भने यस्तो निक्षेपको ब्याजदर ०.२ प्रतिशत विन्दुले बढाएको छ ।