कान्ति बाल अस्पतालमा शैय्याको अभाव, एउटै शैय्यामा तीन जनासम्म बालबालिकाको उपचार

Advertisement

काठमाडौं । कान्ति बाल अस्पतालमा शैय्याको अभाव हुँदा बिरामीहरु मर्कामा परेका छन् । बालबालीकाहरुको रेफरल अस्पतालका रुपमा रहेको कान्ति बाल अस्पतालमा मिर्गौला रोगको उपचार, बाल क्यान्सर, बाल मानसिक रोगको उपचार हुँदै आएको छ । 

यस्तै, बालबालिकाहरुको इन्डोस्कोपी सेवा, मुटु रोगको ओपिडी सेवा सञ्चालन हुने गरेको छ । अहिले रुघाखोकी, निमोनिया, ज्वरो र केही मात्रामा झाडापखालाका बिरामीहरु चाप छ । अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले पर्याप्त शैय्या नहुँदा उपचारमा अफ्ठ्यारो भएको जानकारी दिए । उनले एउटा बेडमा दुईदेखि जना तीन जनासम्मलाई उपचार गर्नुपर्ने बाध्यता रहेको बताए । 

Advertisement

अस्पतालमा ३३० शैय्या छ । अस्पतालमा पर्याप्त शैय्या नहुँदा एउटा बेडमा खप्टेर बस्नुपर्ने स्थिति रहेको बसौलाले बताए । उनले नर्सिङ जनशक्तिको पनि अभाव रहेको जानकारी दिए । बसौलाले गत आर्थिक वर्षमा २ लाख बालबालीकाले उपचार सेवा लिएको जानकारी दिँदै अहिले दैनिक झन्डै नौ सय जना उपचारका लागि आउने गरेको बताए । 

बसौलाले अस्पतालमा एक जना नर्सले ६ देखि ८ जना बिरामीलाई सेवा पु¥याउनुपर्ने अवस्था रहेको बताए । उनले कहिलेकाहिँ दुई जना नर्सले पूरै वार्ड हेर्नुपर्ने अवस्था आउने गरेको भन्दै कम्तीमा पनि पाँच सय जनाको हाराहारीमा नर्सिङ जनशक्ती चाहिने बताए । हाल अस्पतालमा दुई सय जना नर्स कार्यरत छन् ।

अस्पतालले मिर्गौला रोगको उपचार, बाल क्यान्सर, बाल मानसिक रोगको उपचार, इन्डोस्कोपी, मुटु रोगको ओपिडी सञ्चालन गर्दै आएको छ । दैनिक २० देखि ३० वटा अप्रेसन हुने गरेको जानकारी दिनुभयो । कान्ति बालमा ५२ शैय्याको आइसीयु सञ्चालनमा छ ।

एक हजार शैय्याको अस्पताल निर्माण गर्ने गरि डिपिआर पूरा भएको जानकारी दिँदै डा.बसौलाले नौ अर्ब ३० करोडको लागतमा पाँच वटा भबन बनाउने योजना रहेको बताए । उनले इमरजेन्सी बाहेक अप्रेसनका लागि ६ महिनादेखि एक वर्षसम्म कुर्नुपर्ने बाध्यता रहेको बताए । 

कान्ति बाल अस्पतालले निकट भविष्यमा नै एमआरआई सेवा सञ्चालन गर्ने योजना बनाएको छ । 

Advertisement

Advertisement