एउटा कार्यालयमा बायोमेट्रिक गरेपछि सबैतिरलाई काम चल्ने व्यवस्था गर्दैछुः मन्त्री साउद

Advertisement

काठमाडौं । परराष्ट्र मन्त्री नारायण प्रकाश (एनपी) साउदले विगतका सरकारले असन्तुलित बनाएको परराष्ट्र नीति वर्तमान सरकारले सन्तुलित बनाइसकेको बताएका छन् । 

आइतबार कन्सुलर सेवा विभागमा आयोजित एक कार्यक्रममा उनले सरकारले परराष्ट्र सम्बन्धलाई राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकतालाई मजबुत पार्नेगरी अगाडी बढाएको पनि जिकिर गरे । साउदले परराष्ट्र सम्बन्धलाई परस्पर लाभका आधारमा अगाडी बढाइएको पनि बताए । 

Advertisement

उनले पार्टीहरुको परराष्ट्र नीति छुट्टाछुट्टै नबनाई सबैको सहमतीको नीति हुनुपर्ने बताए । साउदले भने – ‘विदेश नीति पार्टी–पार्टीको छुट्टै हुने कुरा होइन कि यसमा सबै पार्टीहरुका बिचमा सहमती हुन सकोस् । हामी एकै ठाउँमा पुग्न सकौँ भनेर कोसिस छ । यदी अरु पार्टीहरुको पनि त्यो अपेक्षा छ भने सरकार त्यसमा दृढतापूर्वक, उदारतापूर्वक सबैका बिचारलाई राष्ट्रिय सहमतीका लागि ग्रहण गर्न तयार रहेको कुरा स्पष्ट गर्न चाहान्छु ।’

उनले सरकारले बायोमेट्रिक लगायतका कामहरु एक कार्यालयमा गरेपछि पुग्ने व्यवस्थाका लागि छलफल गरिरहेको बताए । साउदले 
सरकारी कार्यालयपिच्छे बायोमेट्रिक गर्नुपर्ने अवस्थाले आर्थिक र समय धेरै लाग्ने गरेको भन्दै यसको अन्त्य गर्नका लागि आफू लागिपरेको बताए । 

मन्त्री साउदले पासपोर्टमा भने सहजीकरणका लागि आफुले निर्देशन दिइसकेको बताए । उनले भने– ‘हामी अरु डिपार्टमेन्टहरुमा पनि जस्तो ः पासपोर्ट डिपार्टमेन्टमा पनि भीडको कुरा आएको छ । विशेष गरेर सरकारको उच्चस्तरमा हामीहरु छलफल गरिराखेका छौँ कि बायोमेट्रिकदेखि लिएर विभिन्न कुराहरु एकै सरकारले, हाम्रै सरकारी कार्यालयहरुले पटक–पटक ठाउँ–ठाउँबाट किन गर्ने ? खर्च दोहोरो परिराखेको छ, जुन ठाउँबाट सेवा सुविधा राज्यले प्रवन्ध गर्नुपर्ने हो, एकै ठाउँबाट स्तरिय दिन सक्यौँ भने समयको बर्बादी गर्नुपर्दैन । र प्रशासनिक कामपनि सहजीकरण हुन्छ । यसका लागि मैले पासपोर्टमा सहजीकरण गर्नका लागि सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छु । अरु मन्त्रालयसँग पनि छलफल गरेर यसलाई समाधान दिने बारेमा हामी अगाडी बढ्ने कुरा स्पष्ट गर्न चाहान्छु ।’

साउदले प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण सेप्टेम्बरको तेस्रो चौथो हप्तातिर गर्नेगरी तयारी गरिरहेको बताए । उनले छिमेकी देशहरुका साथै नेपालसँग मैत्रीपूर्ण सम्बन्ध भएका जापान, अमेरिका र युपियन युनियनहरुसँगको मित्रवत् सम्बन्धलाई पनि निरन्तरता दिने पक्षमा सरकार रहेको बताए । 

Advertisement

Advertisement