काठमाडौं । शेयरधितो कर्जाको सीमा बढाए शेयर बजार बढ्छ भन्ने आँकलन ‘फेल’ भएको छ ।
राष्ट्र बैंकले असोज १८ गते बिहीबार नयाँ निर्देशन जारी गर्दै शेयरधितो कर्जाको सीमा बढाएर व्यक्तिगततर्फको अधिकतम क्याप १५ करोड र संस्थागततर्फको क्याप २० करोड पुर्याएको छ ।
तर यसरी शेयरधितो कर्जाको सीमा बढाएपछि यो साताको गत आइतबारदेखि लगातार तीन दिन बजार घट्यो भने बुधबार झिनो सुधार देखिए पनि साताको अन्तिम दिन बिहीबार फेरि दोहोरो अंकको गिरावट आयो ।
राष्ट्र बैंकको नयाँ निर्देशनपछि समग्रमा बजार ८२.३१ अंकले तल झरेर १८७४.६० अंकमा आइपुगेको छ । निर्देशन जारी भएको दिन गत बिहीबार भने नेप्से १९५६.९२ अंकमा थियो । निर्देशन जारी भएकै दिन पनि बजार ११.०४ अंकले घटेको थियो ।
राष्ट्र बैंकको निर्देशन आए लगत्तै नेपाल पूँजीबजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेलले लगानीकर्ताहरुलाई चर्याईरहेको घाउमा राष्ट्र बैंकले थप नुनचुक छर्किएको प्रतिक्रिया जनाएकी थिइन् । ‘खर्बौंको बजारसँग लंगुर्बुर्जाको जस्तो ब्यवहार भयो’, उनले सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया जनाएकी हुन् ।
यो साता कारोबार पनि खासै बढ्न सकेन । १ अर्ब ८ करोडदेखि १ अर्ब ८० करोड रुपियाँसम्मको शेयर किनबेच भएको थियो ।
यस्तो रह्यो यो साता
साताको पहिलो दिन आइतबार बजार ३५.६७ अंकले घट्दा १ अर्ब ८० करोड १७ लाख ६६ हजार २ सय ९४.०८ रुपियाँ, सोमबार १२.५८ अंकले बजार घट्दा १ अर्ब १७ करोड १ लाख ७२ हजार ७ सय २२.०८ रुपियाँ, मंगलबार १९.०६ अंकले बजार घट्दा १ अर्ब २८ करोड ३१ लाख ८२ हजार १ सय ४५.३२ रुपियाँ, बुधबार ५.१६ अंकले बजार बढ्दा १ अर्ब ८ करोड ८५ लाख ४७ हजार ९ सय ८०.१३ रुपियाँ र हिजो बिहीबार २०.१६ अंकले बजार घट्दा १ अर्ब ७० करोड १ लाख २९ हजार ८ सय १५ रुपियाँ बराबरको कारोबार भएको थियो ।