छिमेकी देशमा उत्पादित स्वच्छ उर्जा आयात गर्न भारत लचक, नयाँ सूचना जारी

Advertisement

काठमाडौं । भारतले आफ्नो देशभन्दा बाहिरका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् खरिद गरी खपत गरिएमा त्यसलाई पनि नवीकरणीय ऊर्जा अंश गणना हुने व्यवस्था गरेको छ ।

भारतको विद्युत मन्त्रालययले यही गएको कात्तिक ३ मा राजपत्रमा सूचना प्रकाशित गर्दै सन् २०२४–२५ देखि २०२९–३० सम्मका लागि नवीकरणीय ऊर्जाको न्यूनतम खपत अंश तोकेको छ । जसमा वायु, जलविद्युत र अन्य नवीकरणीय ऊर्जाको खपत हिस्सालाई तोकिएको छ । 

Advertisement

भारतका अनुमतिपत्र प्राप्त वितरण कम्पनीहरु र खरिदकर्ताहरुका लागि अनिवार्य जलविद्युत खरिद (एचपीओ)को न्यूनतम खपत अंश तोक्दै केन्द्रीय सरकारबाट भारतमा विद्युत् बिक्रीका लागि स्वीकृति प्राप्त छिमेकी देशका जलविद्युत आयोजनाहरुबाट खरिद गरिएको विद्युतलाई पनि नवीकरणीय ऊर्जा खपत अंशमा राख्ने पाउने व्यवस्था गरेको हो ।

यसअघि यस्तो एचपीओको व्यवस्था भारतमा उत्पादित जलविद्युत् आयोजनाहरुबाट खरिद गरिएको विद्युतमा मात्र व्यवस्था थियो । भारतले नवीकरणीय ऊर्जा खपत हिस्सा सन् २०२४–२५ मा २९.९१ प्रतिशत र २०२९–३० सम्ममा बढाएर ४३.३३ प्रतिशतको लक्ष्य भेट्नुपर्ने छ । 

यसमध्ये जलविद्युत् खपत हिस्सा सन् २०२४–२५ मा ०.३८ र सन् २०२९–३० सम्ममा बढाएर १.३३ प्रतिशतको लक्ष्य भेट्नुपर्ने छ । यसका लागि ३१ मार्च २०२४ पछि सञ्चालनमा आएका जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युतलाई मात्र गणना हुने व्यवस्था गरिएको छ ।

तोकिएको एचपीओको हिस्सा पुर्याउनैपर्ने र नपुर्याउने वितरण कम्पनीहरु तथा विद्युत् खरिदकर्ताहरुलाई जरिवाना हुने व्यवस्था गरिएको छ ।

अन्य नवीकरणीय ऊर्जाका लागि तोकिएको खपत अंश सन् २०२४ अप्रिल १ अघि सञ्चालनमा आएका जलविद्युत आयोजनाहरुबाट खरिद गरिएको विद्युतलाईसमेत गणना गर्न सकिने व्यवस्था छ ।

नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । प्रााधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केहीअघिबाट मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटीपीसी विद्युत व्यापार निगम लि (एनभीभीएन)लाई बिक्री गरिरहेको छ । एनभीभीएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ ।

भारतको केन्द्रीय विद्युत प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै ५२२ मेगावाटमध्येबाट पहिलो चरणमा करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिएको छ । नेपाल विद्युत प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभीभीएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको छ ।

Advertisement

Advertisement