पृथ्वीनारायण शाहको शालिकमा श्री ५ महाराजधिराज लेखिएकोमा ओलीको आपत्ति

Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले जनतामा अन्योल र निराशा र जनता विदेश पलायन हुँदै जाँदा प्रतिक्रियावादी शक्तिहरु सल्बलाउन थालेको भन्दै आलोचना गरेका छन् । 

बिहीवार बैतडीको गोठलापानी आयोजित महाकाली—मेची अभियानअन्तर्गतको कार्यक्रमा उनले अहिले राजाको शालिक बनाएर श्री ५ महाराजधिराज लेखी असंवैधानिक काम भइरहेको बताए । गणतन्त्रको बिरोध गर्ने दुःशाहसी काम भइरहेको ओलीले बताए । केही दिनअघि राजा ज्ञानेन्द्रद्धारा अनावरण गरिएको पृथ्वीनारायाण शाहको शालिकमा श्री ५ महाराजधिराज लेखिएकोमा गणतन्त्रवादीहरुले आपत्ति जनाउँदै आएका छन् ।  

Advertisement

उनले अब नेपाली जनता पछाडि फर्किन नसक्ने भन्दै कोही धनी र कोही गरिव हुन जन्मिने कुरा स्वीकार्य नहुने बताए । ओलीले भने, ‘जनतामा अन्योल र निराशा बढ्दै गएको हुनाले जनता विदेशतिर पलायन हुँदै गएको हुनाले अहिले प्रतिक्रियावादी प्रतिगामी शक्तिहरु मौका आउँछ की भनेर दुलाबाट टाउको निकालेर फेरि सल्बलाउन खोजेका छन् । अहिले हामी देखिरहेका छौँ, कहीँ उहिले राजतन्त्र थियो, त्यो राजतन्त्रको अहिले शालिक बनाएर, अहिले श्री ५ महाराजधिराज भनेर शालिक लेखेर तमासा गर्ने असंवैधानिक काम अहिले भइरहेको छ । 

ओलीले थपे, ‘गणतन्त्रको बिरोध गर्ने, त्यो दुःशाहसी काम भइरहेको छ । लोकतन्त्रको बिरोध गर्ने दुःशाहसी काम भइरहेको छ । तसर्थ हामी पछाडि फर्किन सक्दैनौँ, फेरि हामी रैति हुन सक्दैनौँ । फेरि हामी दास हुन सक्दैनौँ । फेरि हामी छुवाछुत र अनेक प्रकारतिर फर्किन सक्दैनौँ । फेरि हामी जन्मिँदै कोही राजा हुन जन्मिन्छ, कोही दास, कोही धनी र कोही गरिव हुन जन्मिन्छ, भनेर मान्दैनौँ । अब गरिबी अन्त्य गर्नैपर्छ । अभाव, भोकमरी समाप्त गर्नैपर्छ, त्यो काम सरकारको हो ।’

Advertisement

Advertisement